अर्थतन्त्रमा चुनाैती कायमै : अर्थमन्त्री

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थतन्त्रका सूचकहरू सकारात्मक रहे पनि चुनौतीहरू कायमै रहेको बताएका छन् ।

‘रणनीतिक विश्लेषण प्रतिवेदन २०२४’ (स्ट्राटेजिक एनालिसिस रिपोर्ट २०२४) सार्वजनिक गर्न आइतबार अर्थ मन्त्रालयमा आयोजना गरिएको कार्यक्रममा अर्थमन्त्री पौडेलले यस्तो बताएका हुन् ।

अर्थतन्त्रका सूचकहरू सकारात्मक रहेको बताउँदै उनले भने, ‘अहिले वैदेशिक मुद्राको सञ्चिती राम्रो छ । रेमिट्यान्स आप्रवाह राम्रो छ । मुद्रास्फीति पनि वाञ्छित सीमाभित्र नै रहेको छ । ब्याजदर घटेको छ । बैंकहरुमा पर्याप्त तरलता छ ।’

तर, सूचक सकारात्मक भए पनि चुनौतीहरू भने कायमै रहेकोमा अर्थमन्त्री पौडेलले चिन्ता व्यक्त गरे । उनले भने, ‘अर्थतन्त्रका सूचकहरू राम्रा हुँदाहुँदै पनि हाम्रा सामुन्ने चुनौतीहरू छन् । बजारमा समग्र माग घटेको छ । उत्पादन, रोजगारी, आयात, निर्यात, राजस्व, पुँजीगत खर्च लगायत दबाब छ । यी चिजहरूमा हाम्रो ध्यान केन्द्रित हुन आवश्यक छ ।’

बैंकहरुमा पर्याप्त तरलता रहेकाले उत्पादनका क्षेत्रमा लगानी बढाउनु पर्ने उनको भनाई छ । अर्थमन्त्री पौडेलले भने, ‘बैंकमा पर्याप्त तरलता रहेको छ । ब्याजदरको सहजता प्रदान गरिएको छ । सस्तो ब्याजदरलाई उत्पादनका क्षेत्रमा कसरी सदुपयोग गर्ने भन्नेबारे राष्ट्र बैंकको ध्यान केन्द्रित हुनुपर्छ ।’

मौद्रिक नीतिको समीक्षामार्फत सुधारका कामहरू गर्न नेपाल राष्ट्र बैंकलाई अर्थमन्त्री पौडेलले निर्देशनसमेत दिए ।

यो खबर पढेर तपाईलाई कस्तो लग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

अर्थतन्त्रमा चुनाैती कायमै : अर्थमन्त्री