किन घट्याे सुनकाे भाउ ताेलामै १६ हजार ?

सुनको भाउ तोलामै १५ हजार ९ सय रुपैयाँ घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबार सुनको भाउ प्रतितोला १ लाख ५१ हजार ३ सय रुपैयाँ निर्धारण गरेको हाे । अघिल्लो दिन प्रतितोला १ लाख ६७ हजार २ सय रुपैयाँ थियो ।
किन घट्याे त ह्वात्तै सुनकाे भाउ ? महासंघ अध्यक्ष अर्जुन रसाइली भन्छन्, ‘सरकारले भन्सार दर घटाएका कारणले ।’
‘सरकारले १० प्रतिशत भन्सार दर कायम गरेपछि सोअनुसार सोमबारदेखि मूल्य समायोजन गरिएको हो’ रसाइलीले भने । सरकारले सुनको भन्सार दरलाई २० बाट १० प्रतिशतमा झारेपछि सो दरको प्रभाव सोमबार नै परेको हो ।
यद्यपि अन्तर्राष्ट्रिय बजारमा पनि सोमबार मूल्य केही घटेको थियो । चाँदीको भाउ पनि तोलामा ९५ रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि चाँदीको भाउ प्रतितोला १८४५ रुपैयाँ तय गरेको छ । अघिल्लो दिन प्रतितोला १९४० रुपैयाँ थियो । चाँदीमा पनि भन्सार दर १५ बाट १० प्रतिशतमा झारिएको छ ।
‘भारतबाट सुन तस्करी भएर नेपालमा नआओस् भन्ने उद्देश्यले दर घटाउने निर्णय भएको हो,’ भन्सार विभागका महानिर्देशक हरिशरण पुडासैनीले भने । सरकारले गत बजेटमार्फत १५ प्रतिशत रहेका भन्सार दर २० पुर्याएको थियो ।