सन् २०३० सम्म ५ लाख हरित रोजगारी सिर्जना गर्ने राष्ट्रिय लक्ष्य

राष्ट्रिय योजना आयोग उपाध्यक्ष प्रा. डा. शिवराज अधिकारीले प्रकृतिमा आधारित व्यवसाय, स्थानीय आविष्कार र कम कार्बन उत्सर्जन मार्फत सन् २०३० सम्म ५ लाख हरित रोजगारी सिर्जना गर्ने राष्ट्रिय लक्ष्य रहेको बताएका छन् ।
अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) को आयोजनामा सोमबार काठमाडौंमा आयोजित ‘उत्थानशीलका लागि परामर्श : जैविक अर्थतन्त्र र चक्रीय अर्थतन्त्रमा भुटान नेपाल संवाद कार्यशाला’ उद्घाटन गर्दै उपाध्यक्ष अधिकारीले योजना आयोगका नीति र साझेदारीले वास्तविक परिणाम सुनिश्चित गर्न धेरै महत्त्व राख्ने भएकाले यस कार्यमा आयोग कटिबद्ध रहेको जानकारी दिए ।
उनले नेपाल र सम्पूर्ण हिन्दुकुश हिमाली क्षेत्रका लागि समावेशी, दिगो र लचिलो भविष्य निर्माण गर्ने साझेदारीमा मिलेर लगानी गर्नुपर्ने बताउँदै हरित रोजगारी, जलवायु–स्मार्ट उद्यम गर्न र इकोसिस्टम निर्माण गर्न नेपाल कटिबद्ध रहेको बताए ।
उनले साझा अनुभव र आपसी शिक्षाले पहुँच लाभ साझेदारी र चक्रीय अर्थव्यवस्थामा सहकार्यका लागि नयाँ ढोका खोल्नेसमेत बताए ।