आईएमई लाइफ इन्स्योरेन्सकाे २६.३१ प्रतिशत लाभांश पारित

आईएमई लाइफ इन्स्योरेन्सको सातौं वार्षिक साधारण सभाले २६.३१५८ प्रतिशत लाभांश पारित गरेको छ । कम्पनीका सञ्चालक समितिका अध्यक्ष रामहरि अर्यालको सभापतित्वमा जेठ २८ गते सोमबार काठमाडाैंको नक्सालस्थित आम्रपाली ब्यांक्वेटमा उक्त साधारण सम्पन्न भएको हाे।
साधारण सभाले आर्थिक वर्ष २०७९/८० का लागि प्रस्तावित चुक्ता पुँजी ४ अर्बको २५ प्रतिशतले हुन आउने १ अर्ब बराबरको बोनश शेयर र कर प्रयोजनको लागि समेत १.३१५८ प्रतिशतले हुन आउने ५ करोड २६ लाख ३१ हजार ५७९ रुपैयाँ बराबरको नगद लाभांश गरी कुल २६.३१५८ प्रतिशत लाभांश पारित गरेको हाे।
सभा मार्फत कम्पनीले आर्थिक वर्ष २०७९/०८० को सञ्चालक समितिको प्रतिवेदन सहित वित्तिय विवरणहरु पारित गरेको छ ।लेखापरीक्षकको प्रतिवेदन सहितको आर्थिक वर्ष २०७९/०८० को वासलात, नाफा नोक्सान हिसाब, इक्विटीमा भएको परिवर्तन तथा नगद प्रवाह विवरण र तत्सम्बन्धीत अनुसूचीसहितको वित्तीय विवरण सर्वसम्म्तिबाट पारित गरेको छ।
सभामा सर्वसाधारण शेयरधनी समूहबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने एक जना सञ्चालकको पदमा रविनकुमार नेपाल निर्विरोध निर्वाचित भएका छन् । सभाले सञ्चालक समितिको बैठकमा उपस्थित भए वापत सञ्चालकले पाउने सञ्चालकले पाउने बैठक भत्ता तथा सेवा सुविधा पुनरावलोकनको प्रस्तावसमेत पारित गरेको छ।