प्रभु बैंककाे नाफा १५ सय प्रतिशतले बढ्याे, धेरै कमाउनेमा नबिल

आर्थिक वर्ष २०८०/८१ मा प्रभु बैंकले आक्रामक नाफा वृद्धि गरेको छ ।

गत वर्ष लगभग २८ करोड हाराहारीमा नाफा कमाउन सफल बैंकले पछिल्लो वर्ष लगभग ४ अर्ब ४८ करोड माथि नाफा कमाउन सफल भएको हो ।

बैंकको खुद ब्याज आम्दानी १९.४३ प्रतिशतले बढेर १२ अर्ब २ करोड माथि नाघेको छ । प्रभु बैंकको सञ्चालन नाफा भने ३५४.६२ प्रतिशतले बढेर ७ अर्ब ५ करोड माथि रहेको छ ।

खासगरी समीक्षा वर्षमा बैंकको इम्पेयरमेन्ट चार्ज घट्न पुग्दा नाफामा उल्लेखनीय वृद्धि आएको छ गत वर्ष ५ अर्ब २१ करोड रुपैयाँ माथि इम्पेयरमेन्ट चार्ज यो वर्ष घटेर ५५ करोड ६८ लाख रुपैयाँमा आइपुगेको छ ।

प्रभु बैंकको चुक्ता पुँजी २३ अर्ब ५४ करोड बढी पुगेको छ भने रिजर्भ कोषमा ११ अर्ब ६६ करोड रुपैयाँ माथि रहेको छ ।

नबिल शीर्ष स्थानमा

उच्च नाफा आर्जन गर्नेको शीर्ष स्थानमा नबिल बैंक देखिएको छ । बैंकले आर्थिक वर्ष २०८०/८१ मा खुद ७ अर्ब ६ करोड ३३ लाख रुपैयाँ नाफा कमाएको छ । यो अघिल्लो वर्ष बैंकले कमाएको नाफाको तुलनामा १०.२३ प्रतिशतले बढी हो ।

नबिल बैंकले आर्थिक वर्ष २०७९/८० मा ६ अर्ब ४० करोड रुपैयाँ खुद नाफा कमाएको थियो । समीक्षा वर्षमा २० वटा वाणिज्य बैंकहरुले कूल ६४ अर्ब १५ करोड ५३ लाख रुपैयाँ नाफा आर्जन गर्दैगर्दा नबिल एक्लैले ७ अर्बमाथिको नाफा आर्जन गर्नु आफैँमा ठूलो उपलब्धि हो । यो कूल नाफाको ११ प्रतिशतको हिस्सा हो ।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ८.६९ प्रतिशतले घटेर १६ अर्ब २० करोड ७० लाख १० हजार रुपैयाँमा सीमित भएको छ । तथापि, बैंकको इम्पेयरमेन्ट चार्ज घटेकाले खुद ब्याज आम्दानी घटे पनि खुद नाफा बढेको हो ।

अघिल्लो आर्थिक वर्षमा ५ अर्ब ४२ करोड ६२ लाख ६९ हजार रुपैयाँ रहेको इम्पेयरमेन्ट चार्ज गत असार मसान्तसम्म आइपुग्दा ३ अर्ब २२ करोड ४३ लाख ९० हजार रुपैयाँमा आएको छ ।

यस्तै बैंकको सञ्चालन नाफा ३.५१ प्रतिशतले बढेर ९ अर्ब ८४ करोड ६८ लाख ५१ हजार रुपैयाँ पुगेको छ भने असार मसान्तसम्म आइपुग्दा बैंकको चुक्ता पुँजी २७ अर्ब ५ करोड ६९ लाख ९७ हजार रुपैयाँ रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो लग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

प्रभु बैंककाे नाफा १५ सय प्रतिशतले बढ्याे, धेरै कमाउनेमा नबिल