सुनकाे मूल्यमा रेकर्ड : ताेलामै ६ हजार ९ सय रुपैयाँ बढ्याे

स्थानीय बजारमा मंगलबार सुनको भाउ ताेलामै ६ हजार ९ सय रुपैयाँले बढेकाे छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको मूल्य तोलाको १ लाख ९७ हजार ९ सय रुपैयाँ पुगेको छ ।
केही दिनयता स्थिर रहेको चाँदीको भाउ भने तोलामा १० रुपैयाँले वृद्धि भएको छ । सोमबार तोलाको १ हजार ९ सय ६० रहेको चाँदी आज १ हजार ९ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ ।
अन्तर्राष्ट्रिय बजारमा सोमबार सुनको मूल्यमा भारी वृद्धि हुँदा नेपाली बजारमा पनि बढेको हो । अन्तर्राष्ट्रिय बजारमा प्रतिऔंस ३ हजार ४ सय अमेरिकी डलर नाघेको छ । मंगलबार कारोबार प्रारम्भमा थप मूल्य बढेर ३ हजार ४ सय ८० डलर हाराहारी पुगेको हो ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले त्यहाँकाे केन्द्रीय बैंक (फेडरल रिजर्भ) लाई दिएको चेतावनीका कारण सुनको मूल्यमा भारी वृद्धि भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
ट्रम्पले शुक्रबार मात्रै केन्द्रीय बैंकलाई हस्तक्षेप गर्ने आशयले अभिव्यक्ति दिएका थिए । ‘धेरैले ब्याजदरमा कटौतीको माग गरिरहेका छन्,’ ट्रम्पले ट्रुथ सोसलमा भनेका छन्, ‘अहिले ब्याजदर घटाउन नसके अर्थतन्त्रमा मन्दी आउन सक्छ ।’