शाखा कार्यालयहरु बन्द गर्ने कुनै योजना छैन : एनआइसी एसिया बैंक

एनआइसी एसिया बैंकले आफ्ना आफ्ना ५० शाखा कार्यालयहरू बन्द गर्न लागेको र त्यसको स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकसमक्ष निवेदन दिएको भनी सार्वजनिक भएका समाचारमा कुनै सत्यता नरहेकाले भ्रमित नहुन आग्रह गरेको छ ।
बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुधीरनाथ पाण्डेले एक विज्ञप्ति जारी गर्दै आफ्ना कुनै पनि शाखा कार्यालय बन्द गर्ने रणनीति तथा योजना नरहेको स्पष्ट पारेका छन् ।
वाणिज्य बैंकहरूमध्ये सबैभन्दा धेरै शाखा सञ्जाल भएको यस बैंकले हाल मुलुकभर ३६० शाखा कार्यालयहरू, ६७० एटिएम, ११५ वटा विस्तारित काउन्टर एवं ५१ वटा शाखारहित बैंकिङ्ग सञ्जालद्वारा ४१ लाखभन्दा बढी ग्राहकलाई सहज एवं सरल बैंकिङ्ग सेवा प्रदान गरिरहेको छ ।
आर्थिक रूपमा सक्रिय जनसंख्याको करिब २५ प्रतिशतलाई सेवा दिएको दाबी बैंकले गरेको छ । साथै, बैंकले वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रूकुम, जुम्ला, सल्यान जस्ता बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरूमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरू नपुगेका ३४ भन्दा बढी स्थानीय निकायहरूमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको जनाएको छ । देशको कुल जनसंख्याको ८०% भन्दा बढी बसोबास गर्ने ग्रामीण तथा साना सहरी क्षेत्रमा आफ्ना ७२% शाखा कार्यालयहरू स्थापना गरेको बैंकले जनाएको छ ।