डीडीसीले तिरेन १ अर्ब, दूधको पैसा नपाउँदा किसान सडकमा

चितवनका दूध उत्पादक किसानले दूधको रकम भुक्तानी र बिक्री वितरण सहजीकरण माग गर्दै ६ फागुनमा भरतपुर बसपार्क चोकमा सयौं लिटर दूध पोखेर आन्दोलन गरे । चितवन जिल्ला दूध उत्पादक सहकारी संघको आह्वानमा जिल्लाका विभिन्न सहकारीमा आबद्ध किसानले दूध पोखेका थिए ।
उनीहरूले सडकमा प्रदर्शन गर्दै जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्रसमेत बुझाए । त्यसपछि किसान फेरि सडकमा नारा लगाउँदै केन्द्रीय बस टर्मिनल चोक पुगेर दूध पोखेका थिए । त्यसाे त केन्द्रीय दुग्ध उत्पादक सहकारी संघ आह्वानमा देशभरि दूध किसान आन्दोलित नै छन् ।
केन्द्रीय दुग्ध उत्पादक सहकारी संघ सञ्चालक कृष्ण सापकोटाले सबै जिल्ला संघले अब आन्दोलन थालेको बताए । ‘किसानहरूको ठूलो उपस्थितिमा हामी आन्दोलन थाल्दै छौं, अहिले देशभरिका किसान ठूलो मर्कामा छन्,’ उनले भने, ‘एक त अहिले दूध बिक्री नै छैन, भएको पनि रकम भुक्तानी पाइएको छैन ।’
उनका अनुसार किसानले सहकारी मार्फत बेचेको दूध सरकारी स्वामित्वको दुग्ध विकास संस्थान -डीडीसी-ले किनेको हो । त्यसैको भुक्तानी हुन बाँकी करिब १ अर्ब रुपैयाँ जति किसानले पाएका छैनन् । ‘डीडीसीले असोजदेखि किसानहरुको दूधको रकम भुक्तानी गरेको छैन । हुँदा हुँदा निजी डेरी उद्योगले पनि दुई महिनादेखि दूधको पैसा दिएका छैनन्,’ सापकोटाले भने, ‘अनि, किसानले यस्तोमा कसरी दूध उत्पादन गरोस् ? त्यही भएर आन्दोलन सुरु भएको हो ।’
राजधानीमा किसान आन्दोलन
सापकोटाका अनुसार बुधबारदेखि सबैतिर दुग्ध सहकारीलाई किसानका समस्याबारे सुसूचित गर्ने, स्थानीय सरकारलाई किसानका समस्याबारे जानकारी गराउने लगायत आन्दोलनका कार्यक्रम तय गरिएको छ । शुक्रबारसम्म पनि अटेर गरे त्यसपछि प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएर किसानले राजमार्ग अवरुद्ध गराउने केन्द्रीय दुग्ध उत्पादक संघको घोषणा छ ।
‘हामी किसानका लागि यति आन्दोलन गर्छौं, किसानको माग पूरा भएन भने काठमाडौं केन्द्रित आन्दोलन गर्ने तयारी गरेका छौं,’ उनले भने । उनले दूध किसान आन्दोलन दूधको भुक्तानी र उचित बजारको मागका लागि रहेको बताए । सरकारले नै दूधजन्य पदार्थमा किसानको पक्षमा काम नगरेको गुनासो गर्दै सापकोटाले एउटा नीति पनि बनाउन नसकेको बताए । सडकमै दूध पोखेर आन्दोलनमा उत्रिन बाध्य हुनुपरेको चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ अध्यक्ष किशोर बगालेको तर्क छ । दूध बेचेको पैसा लामो समयसम्म पनि नपाएपछि किसान समस्यामा परेको उनले बताए ।
किसानहरू ‘मिल्क होलिडे’ को चरम संकटमा परेको बगालेको गुनासो छ । यस्तै अवस्था आए किसान पेसाबाटै विस्थापित हुने खतरा नजिकै आएको उनले बताए । दूधको रकम नपाउँदा गाईलाई खुवाउने चोकर, दाना किन्नसमेत निकै समस्या भएको किसानको भनाइ छ ।