लक्ष्मी सनराइज बैंकमा अध्यक्ष पद बेवारिस : नेपालको शपथ रोकियो

सधैं लफडै मात्र परिरहने लक्ष्मी सनराइज बैंकमा यतिबेला अध्यक्ष पद बेवारिसे भएको छ ।
पुस २६ मा २३ औँ वार्षिक साधारण सभाले संस्थापक शेयरधनीको तर्फबाट रमण नेपाल र मनोजकुमार भट्टराई सर्वसाधारण शेयरधनीको तर्फबाट स्वाती रुङ्गटा र दिनेश पौड्याललाई सञ्चालक समितिमा निर्वाचित गरेको थियो ।सोही दिन हतारमा बसेको सञ्चालक समितिको बैठकले नेपाललाई अध्यक्षमा नियुक्त गर्ने निर्णय गर्याे ।
अध्यक्ष नियुक्त रमण नेपाललाई भने नेपाल राष्ट्र बैंकले काम गर्न रोकेको छ ।राष्ट्र बैंकले अध्यक्षका लागि अयोग्य भन्दै नेपाललाई तत्काल काम नगर्न निर्देशन दिएको हो । यसअघि नागरिक लगानी कोषको प्रतिनिधित्व गर्दै संस्थापक शेयरधनीको तर्फबाट लक्ष्मी बैंकको अध्यक्ष रहेका उनी मर्जर पश्चात् लक्ष्मी सनराइज बैंकको अध्यक्ष बनाइएका थिए ।
नागरिक लगानी कोषको कार्यकारी निर्देशकबाट अवकाश भएको ६ महिना पुगेको छैन । नागरिक लगानी कोषको कार्यकारी निर्देशकबाट अवकाश पाएपछि बैंकको अध्यक्षबाट उनी स्वतः बाहिरिएका थिए । गत पुस २६ गते भएको बैंकको साधारणसभाले उनलाई संस्थापक शेयरधनी कै रुपमा सञ्चालकमा निर्वाचित गरेको थियो ।
बैंक वित्तीय संस्था ऐनको दफा २५ अनुसार सञ्चालकले आफू नियुक्ति भएको जानकारी १५ दिनभित्र राष्ट्र बैंकलाई गराउनु पर्छ। सो व्यवस्थाअनुसार बैंकले जानकारी गराए पनि नागरिक लगानी कोषबाट बाहिरिए लगत्तै अध्यक्ष बन्न नपाउने भन्दै नेपालकाे शपथ रोकिएयता लक्ष्मी सनराइज बैंक अध्यक्षबिहीन छ।