लयमा फर्किंदै पर्यटन : नेपाल घुम्ने विदेशीकाे संख्या बढ्याे

नेपाल घुम्न हवाई माध्यमबाट आउने पर्यटकको सङ्ख्या बढेकाे छ । गत वर्षको जनवरी र फेब्रुअरीको तुलनामा २०२४ मा उल्लेख्य मात्रामा विदेशी पर्यटक भित्रिएका छन् । जनवरी र फेब्रुअरीमा मात्रै १ लाख ७६ हजार ५ सय २६ विदेशी आएका छन् ।
नेपाल आउनेमध्ये सबैभन्दा धेरै भारतीय पर्यटक छन् । भारतबाट दुई महिनामा ५० हजार पर्यटक आएका छन् । भारतबाट आउनेमा धेरैजसो धार्मिक पर्यटक छन् । उनीहरूले नेपालको लुम्बिनी, मुक्तिनाथ, पोखरा, पशुपतिनाथलगायतका धार्मिक स्थलको दर्शन गरेका छन् ।
भारतपछि धेरै आउनेमा चिनियाँ छन् । १६हजार ४ सय ४७ जना चीनबाट आएका छन् । धेरै पर्यटक भित्रिने मुलुकको सूचीको तेस्रो स्थानमा अमेरिका छ । अमेरिकाबाट १६ हजार १ सय ३६ जना पर्यटक आएका छन् ।
नेपाल पर्यटन बोर्डका अनुसार जनवरीमा ७९ हजार १ सय पर्यटक आएकामा फेब्रुअरीमा ९७ हजार ४ सय २६ जना आएका छन् ।
यस अवधिमा थाइल्याण्डबाट ९ हजार ४ सय १८ पर्यटक नेपाल आएका छन् । बेलायतबाट ८ हजार र बंगलादेशबाट ७ हजार ७ सय पर्यटक भित्रिएका छन् ।