लोडसेडिङ हुन्छ भन्ने हल्ला निराधार : मन्त्री बस्नेत

ऊर्जा, जलस्रोत तथा सिञ्चाई मन्त्री शक्तिबहादुर बस्नेतले लोडसेडिङ हुन लागेको हल्ला निराधार भएको बताएका छन् । प्रतिनिधिसभा अन्तर्गतको अर्थ समिति बैठकमा बुधवार बोल्दै ऊर्जा मन्त्री बस्नेतले समाचारहरूमा आए अनुसारको समस्या नभएको दाबी गरेका हुन् ।
उनले केही दिनदेखि भारतसँग विद्युत् खरिद सम्झौता नवीकरण नहुने र अब केही दिनमा लोडसेडिङ हुन्छ भन्ने हल्लामा सत्यता नभएको बताए । मन्त्री बस्नेतले विद्युत् खरिद सम्झौतामा हरेक वर्ष प्रतिस्पर्धी बजारबाट बिजुली ल्याउन नवीकरण गर्नुपर्ने भएकाले सरकार त्यो प्रक्रियामा रहेको उल्लेख गरे ।
उनले बाहिर आए जस्तो भारतले विद्युत् आयात गर्ने अनुमति नवीकरण नगर्ने भन्ने अवस्था नभएको बताए । उनले भारतबाट बिजुली आयात अनुमति नहुने भनेर आवश्यकता भन्दा बढी चर्चा गर्न उपयुक्त नभएको बताए ।
भारतबाट बिजुली खरिदका लागि हरेक वर्ष नवीकरण गर्नुपर्ने हुन्छ । उक्त नवीकरण भारतको इन्डियन इनर्जी एक्सचेन्ज लिमिटेड (आइएक्स) ले नवीकरण नगर्ने मनस्थिति बनाएको हल्ला बजारमा चलेको छ । ‘लोडसेडिङ हुँदैछ रे, भारतबाट बिजुली आयात गर्ने अनुमति नवीकरण हुँदैछन् भन्ने बाहिर समाचारहरू आइरहेको छ । त्यो सही होइन । नियमित प्रक्रियामा प्रत्येक वर्ष सरकारले नवीकरण गर्ने प्रक्रियामा हुन्छ । हामी त्यो प्रक्रियामा छौँ,’ मन्त्री बस्नेतले भने, ‘त्यो भारत सरकारसँग नवीकरण हुन्छ । प्रक्रियागत रूपमा काम चलिरहेको छ ।’
नेपाल विद्युत् प्राधिकरणले आन्तरिक माग पूरा गर्न करिब ६०० मेगावाटभन्दा बढी आयात गर्दै आएको छ ।
ऊर्जा मन्त्री बस्नेतले विराटनगर करिडोरमा विद्युत् आपूर्तिमा समस्या रहेको स्वीकार गरे । उनले गत वर्ष पूर्वपहाडी जिल्लामा गएको बाढी पहिरोको कारण जलविद्युत आयोजनाहरूमा भएको क्षतिको असर विराटनगर करिडोरमा परेको बताए । मन्त्री बस्नेले निजी क्षेत्रले उत्पादन गरेको विद्युत् ढल्केवरबाट इनरुवालाई प्रशारण लाइन जोडेर विराटनगर करिडोरको प्रेसरलाई कम गर्ने प्रयास गरिरहेको बताए ।