सहकारीले बैंकभन्दा ठूलाे काराेबार गर्दा समस्या भयाे : मन्त्री

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले सहकारी संस्थाहरूले बैंकभन्दा ठूलो वित्तीय कारोबार गर्दा समस्या भएको बताएका छन् ।
नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) ले आयोजना गरेको दोस्रो लेखा सुपरिवेक्षण समितिको राष्ट्रिय गोष्ठीमा मन्त्री अधिकारीले सहकारीहरू आफ्नो मूल्य मान्यता र सिद्धान्त विपरीत अस्वस्थ प्रतिस्पर्धामा लागेकाे बताए ।
जुन उद्देश्यका साथ सहकारी स्थापना भएको थियो त्यसको खिलाफ गर्दै काम भइरहेको उनको धारणा छ । ‘सहकारीहरू बैंकभन्दा ठुलो कारोबार गर्ने अभ्यासमा लागे, सहकारीको मूल्य मान्यता विपरीत काम गर्न थाले, बचतकर्ताको बचतलाई दुरुपयोग गर्ने अधिकार कसैलाई पनि हुँदैन’, उनले भने ।
सदस्यले पनि सबै कुराको जिम्मा सञ्चालकलाई दिन नहुने धारणा राख्दै मन्त्री अधिकारीले भने, ‘शिक्षक, डाक्टर तथा वकिल सबै यो क्षेत्रमा छन् । सर्वप्रथम मेरो कर्तव्य के हो बुझ्नुपर्छ, त्यो बुझ्न सकियो भने यो समस्या आउँदैन ।’ मन्त्री अधिकारीले सहकारीमा समस्या आउनुमा संस्थाको लेखा सुपरिवेक्षण समिति पनि जिम्मेवार रहेको बताए ।
कार्यक्रममा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव गोकर्णमणि दवाडीले अर्थतन्त्रको एउटा महत्त्वपूर्ण खम्बामा धमिरा लागेको धारणा राखे । उनले सहकारी अभियान भुमरीमा परेको बताए । सहकारी क्षेत्रमा लामो समयदेखि समस्या रहेको बताउँदै विगतका अभ्यासहरूबाट पाठ सिकेर पनि अगाडि बढ्नुपर्ने उनले बताए ।
सहकारी विभागका रजिस्ट्रार पीताम्बर घिमिरेले सहकारीको खोल ओढेर बदमासी गर्नेलाई कानुनी कारबाही गरेर छाड्ने बताए । उनले सहकारीको प्रभावकारी नियमनका लागि वैशाख मसान्तभित्रै ऐनको मस्यौदा सार्वजनिक गर्ने र सहकारी देखाएर गलत गर्नेलाई कारबाही गरेरै छाड्ने बताए ।