सत्तारुढ दलभित्र बजेटप्रति असन्तुष्टि छैन : दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहालले बजेटमा सत्तारुढ दलबीच असन्तुष्टि नरहेकाे दाबी गरेका छन् । उनले नीति तथा कार्यक्रम र बजेट राष्ट्र र जनताको पक्षमा आएको बताए ।
‘नीति कार्यक्रम र बजेट जनता र राष्ट्रको पक्षमा आएको छ, सुशासन, सामाजिक न्याय र समृद्धिको क्षेत्रमा पनि सकारात्मक पहलहरू अगाडि आएका छन्,’ भरतपुर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले भने, ‘यो सन्तोषजनक छ ।’
उनले आफूले विगतमा भनेजस्तो राष्ट्र र जनताको अपेक्षाअनुसार नभएको उल्लेख गर्दै अझै गति दिन आवश्यक रहेको बताए ।
उनले एमाले अध्यक्ष केपी शर्मा ओलीले बजेटको विराेधजस्ताे मात्रै गरेकाे बताए । उनले भने, ‘विरोधजस्तो मात्रै गर्नुभएको छ । साँच्चै गर्नुभएको छैन । उथलपुथल गर्ने बेला भएको छैन ।’
उनले नयाँ समीकरण बनेपछिको सय दिन समग्रमा सन्तोषजनक भएको जिकिर गरे ।