हिन्दु धर्मावलम्बीकाे दाेस्राे मुख्य चाड तिहार बुधबारबाट सुरु भएकाे छ । कार्तिक कृष्ण त्रयोदशीका दिनमा मनाइने काग तिहार पर्व यमराजको दूतका रूपमा कागलाई मीठो-मीठो चीजबीज खान दिएर मनाइएकाे छ ।

यमराजले लोकको खबर कागका माध्यमबाट थाहा पाउने भएकाले कागलाई यमदूतका रूपमा मान्ने शास्त्रीय विधान छ । कागले यमराजसमक्ष राम्रो खबर लगिदियोस् भनेर कागलाई पूजा आराधनासहित मीठो-मीठो खान दिई खुसी पार्ने चलन छ ।

लोक व्यवहारमा काग घरमा आई कराएमा शुभ बोल, शुभ बोल भनी भन्ने प्रचलनसमेत छ । काग घर वरपर आई कराएमा उसले केही खबर लिएर आएको विश्वाससमेत गर्ने गरिन्छ ।

‘काकेन दधि भक्षितम्’ अर्थात् कागलाई दही भात मीठो लाग्ने भएकाले दही भात खुवाउने प्रचलन रहीआएको धर्मशास्त्रविद् प्राडा रामचन्द्र गौतम बताउँछन् । यस अवसरमा कागेश्वरी मनोहरा नगरपालिका–१ स्थित कागेश्वरी महादेव मन्दिरमा आज विशेष पूजा आराधना गरिएकाे छ । यसैगरी हनुमानढोकास्थित कागेश्वरी मन्दिरमा पनि कागको विशेष पूजा आराधना गरिन्छ ।

दुष्कर्म गर्नेलाई यमराज भएर दण्ड दिने र सत्कर्म गर्नेलाई धर्मराज भएर रक्षा गर्ने विश्वाससित पनि तिहार पर्व गाँसिएको छ । यम यातनाबाट मुक्तिका लागि परिवारका सबै सदस्यका नाममा यम दीपदान गर्ने क्रम पनि बुधबार साँझदेखि नै सुरु गरिँदैछ । यम दीपदान दक्षिण फर्काएर गर्नुपर्ने वैदिक सनातन शास्त्रीय विधि रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो लग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

तिहार सुरू : आज काग तिहार