भाेलिदेखि कतार एयरले पनि गाैतमबुद्ध विमानस्थलबाट उडान गर्ने

भैरहवाको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट कतार एयरवेजले पनि उडान थाल्ने भएको छ। उसले मङ्गलवारबाट उडान थाल्न लागेकाे हो । कतार एयरले अहिले कतार–काठमाडौं दैनिक ३ वटा उडान गरिरहेको छ ।
मङ्गलवारबाट भने दोहा–भैरहवा–काठमाडौं–दोहा उडान गर्नेछ । यो सँगै भैरहवाबाट अन्तर्राष्ट्रिय उडान गर्ने विमान कम्पनी ५ वटा पुगेका छन् । यसअघि नेपाल एयरलाइन्स, जजिरा, फ्लाइ दुबई र थाई एयर एशियाले उडान थालिसकेका छन्।
नोभेम्बर १२ देखि ३० सम्म १९ वटा उडान गर्ने गरी अनुमति प्रदान गरिएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । कतार एयरवेजले हप्ताका सातै दिन दोहा–भैरहवा–काठमाडौं उडान गर्ने प्राधिकरणका सहप्रवक्ता ज्ञानेन्द्र भुलले जानकारी दिए।
कतार एयरवेजको जहाज दिउसो २ः ४५ मा भैरहवा आउने छ । ४ः ४५ बजे काठमाडौंको लागि प्रस्थान गर्नेछ। कठमाडौंबाट साँझ ६ः५५ बजे दोहा प्रस्थान गर्नेछ।
यसअघि दुबईको फ्लाई दुबई, नेपाल एयरलाइन्स, कुवेतको जजिरा एयरवेज र थाईल्याण्डको थाई एयर एसियाले भैरहवाबाट उडान थालिसकेका छन् । जजिराले सातामा तीन दिन भैरहवा–कुवेत उडान गरिरहेको छ । फ्लाई दुवईले दैनिक उडान गरिरहेको छ ।
नेपाल एयरलायन्सले शनिवार साँझबाट सातामा चार दिन काठमाडौं–भैरहवा–दुवई उडान गरिरहेको छ । थाई एयर एसिया प्रत्येक साताको सोमबार र बिहीबार उडान गर्ने तय भएको छ ।