नेपाली बजारमा मोटरसाइकलभन्दा स्कुटरको बिक्री बढी

नेपाली बजारमा मोटरसाइकलभन्दा स्कुटरको बिक्री बढी हुन थालेकाे छ । दुई पाङ्ग्रेको समग्र व्यापारमा स्कुटरको हिस्सा करिब ६० प्रतिशत छ ।
चालु आर्थिक वर्षको पाँच महिनामा होन्डाको विक्रेता पद्म ज्योति ग्रुपअन्तर्गतको स्याकार ट्रेडिङ दुई पाङ्ग्रे बजारमा पहिलो नम्बरमा छ । टीभीएसको विक्रेता शंकर ग्रुप अन्तर्गतको जगदम्बा मोटर्स दोस्रो र बजाजको आधिकारिक विक्रेता गोल्छा अर्गनाइजेस अहिले तेस्रो नम्बरमा छ ।
तीन वर्षअघिसम्म बजाज नेपाली बजारमा पहिलो नम्बरमा थियो । बजाजको पल्सर नेपाली बजारमा निकै रुचाइको मोडल हो । दोस्रोमा यामाहा र तेस्रोमा होण्डा थियो । यामाहाको एफजेड र होण्डाको साइन, युनिकर्न जस्ता मोटरसाइकल सर्वाधिक बिक्री हुनेमा पर्थे । पछिल्लो केही वर्षदेखि मोटरसाइकलको तुलनामा स्कुटरको बजार माग उकालो लागेपछि विक्रेताहरूको बजार हिस्सा पनि बदलिएको छ ।
होण्डाको विक्रेता पद्म ज्योति ग्रुप अन्तर्गतको स्याकार ट्रेडिङले चालु आर्थिक वर्ष २०८१/८२ को साउनदेखि मंसिरसम्म २५ हजार ५०० वटा मोटरसाइकल तथा स्कुटर आयात गरेको छ । यसमध्ये स्कुटरको सङ्ख्या मात्रै २० हजार ४६७ छ । नेपाली बजारमा होण्डाका डियो र ग्राजिया रुचाइएका मोडलमा पर्छन् । नेपालमा डियो सर्वाधिक लोकप्रिय मोडल बनेको छ ।
टीभीएस दुई पाङ्ग्रेको आधिकारिक बिक्रेता शंकर ग्रुप अन्तर्गतको जगदम्बा मोटर्सले साउन–मङ्सिरको अवधिमा मात्रै १२ हजार ७३४ वटा स्कुटर भित्र्याएको छ । टीभीएसको एनटर्कका विभिन्न मोडल चलेका छन् ।
मोटरसाइकलको बिक्रीमा भने बजाज पहिलो नम्बरमै छ । बजाजले १७ हजार वटा मोटरसाइकल भित्र्याएको छ ।
नेपालमा यामाहाको आधिकारिक विक्रेता मोरङ अटो वर्क्स (एमएडब्लू) राइड्सले पाँच महिनामा ९ हजार ४७८ स्कुटर भित्र्याएको छ । यही अवधिमा एमएडब्लू राइड्सले ६ हजार ७०० वटा मोटरसाइकल ल्याएको छ ।