पहिलो ६ महिनामा ३१.८ प्रतिशतले बढ्याे निर्यात

अर्थ मन्त्रालयले आर्थिक वर्ष २०८१/८२ को ६ महिनाको प्रमुख आर्थिक सूचक सार्वजनकि गरेको छ ।
जसअनुसार चालु आव पहिलो ६ महिना (साउन–पुस) मा निर्यात ३१.८ प्रतिशतले वृद्धि भएको छ । गत आव सोही अवधिमा निर्यात ७.२ प्रतिशतले घटेको थियो । यस अवधिमा ९८ अर्ब ७९ करोड रुपैयाँ बराबर वस्तु निर्यात भएको छ । गत आव सोही अवधिमा ७४ अर्ब ९७ करोडको निर्यात भएको थियो ।
त्यसैगरी ८ खर्ब २२ अर्ब ३७ करोड बराबरका वस्तु आयात भएको छ । यो ७.१ प्रतिशतले बढेको हो । गत आव यही अविधमा ७ खर्ब ६८ अर्ब १७ लाखको आयात भएको थियो ।
आयात–निर्यात अनुपात ८.३ : १ छ । गत आव सोही अवधिमा १०.२ : १ थियो ।
अर्थ मन्त्रालयका अनुसार चालु आव पहिलो ६ महिनामा राजस्व १२.७ प्रतिशतले वृद्धि भएको छ । गत आव सोही अवधिमा भने ८.२ प्रतिशतमात्र बढेको थियो ।
पहिलो ६ महिनामा सरकारको खर्च ७.८ प्रतिशतले बढेको छ । गत आव सोही अवधिमा १.७ प्रतिशतले घटेको थियो । वित्तीय संस्थामा निक्षेप संकलन २ खर्ब ११ अर्बले बढेको छ भने निक्षेप संकलन ३.३ प्रतिशतले सुधार भएको छ । कर्जा प्रवाह पनि ४.४१ प्रतिशतले बढेको छ ।
अर्थ मन्त्रालयका अनुसार चालु खर्चका लागि विनियोजित ७ खर्ब ३१ अर्ब ७९ करोडमध्ये पुस मसान्तसम्म २ खर्ब ६६ अर्ब ८५ करोड खर्च भएको छ ।