चीन निकासी हुन लागेकाे २५ करोडका मालिक भेटिए

चीनतर्फ निकासी हुन लागेकाे २५ करोड रुपैयाँ बराबरको विदेशी मुद्राको वास्तविक मालिक पत्ता लागेको छ ।
राजश्व अनुसन्धान विभागको जासुसी तथा विज्ञ टोलीले सीसीटिभी फुटेज, डिजिटल डिभाइस, बैङ्क कारोबार तथा सीडीआर विश्लेषण गरेर वास्तविक मालिक पहिचान गरेको विभागका महानिर्देशक चण्डीप्रसाद घिमिरेले जानकारी दिए ।
घिमिरेका अनुसार यो मुद्राको वास्तविक मालिक सिन्धुपाल्चोक भोटेकोसी ४ स्थायी घर भई काठमाडौं महादेवटार हाइट बस्ने नारायण पौडेल रहेका छन् ।
यसअघि गत चैत्र ४ गते राति ११ बजे प्रहरीले काठमाडौँका टोखा नगरपालिका वडा नम्बर २ स्थित झोरमा ना ७ ख १६५२ नम्बरको मालवाहक ट्रक गाडीसहित करिब २५ करोड रुपैयाँ बरामद गरेको थियो ।
अमेरिकी डलर, युरो लगायतका मुद्राहरू रहेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले पत्रकार सम्मेलन गरी जानकारी दिएको थियो । सो क्रममा ट्रकका चालक सिन्धुपाल्चोक, भोटेकोसी गाउँपालिका वडा नम्बर १ का ४३ वर्षी कुसाङ लामा पक्राउ परेका थिए ।