थप दुई दर्जन सहकारी कालाेसूचीमा

बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएर समयमै कर्जा फर्छ्यौट नगर्ने दुई दर्जन सहकारी कालोसूचीमा परेका छन् । गएको कात्तिक महिनामा कर्जा सूचना केन्द्रले २४ वटा सहकारीलाई कालोसूचीमा राखेको हो ।
कुनै व्यक्ति वा संस्थाले लिएको कर्जा निष्क्रिय भएमा, भाखा नाघेमा त्यस्ता व्यक्ति तथा कम्पनीहरूलाई बैंक तथा वित्तीय संस्थाहरूले कालोसूचीमा राख्न कर्जा सूचना केन्द्रलाई परिपत्र गर्छ । सोही आधारमा कुनै पनि बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋण नतिर्ने ऋणीहरूलाई कर्जा सूचना केन्द्रले कालोसूचीमा राख्ने गर्छ ।
केन्द्रले कालोसूचीमा राखेपछि त्यस्ता व्यक्ति तथा संस्थाहरू वित्तीय सेवा लिनबाट बन्देज हुन्छन् । उनीहरूले अर्को बैंक तथा वित्तीय संस्थाबाट पुनः कर्जा समेत पाउँदैनन् । राज्यबाट समेत उनीहरूले विभिन्न सेवा सुविधा नपाउने कर्जा सूचना केन्द्रले जनाएको छ ।
केन्द्रले साना वित्त विकास बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड, एभरेष्ट बचत तथा ऋण सहकारी संस्था, हिमरोशनी बचत तथा ऋण सहकारी संस्था, अबितारा बचत तथा ऋण सहकारी संस्था र साइनो बचत तथा ऋण सहकारी संस्थालाई कालोसूचीमा राखेको छ ।
त्यसैगरी चुरियामाई बचत तथा ऋण सहकारी संस्था, युनिफाइड बचत तथा ऋण सहकारी संस्था लिमिटेड, श्रमजिवी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, हरियाली बचत तथा ऋण सहकारी संस्था लिमिटेड र गंगाजल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड पनि कालोसूचीमा परेका छन् ।
केन्द्रले कालाेसूचीमा राखेकामा सूर्योदय बचत तथा ऋण सहकारी संस्था लिमिटेड, धरणीधर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड, नेशनल नमोबुद्ध बचत तथा ऋण सहकारी संस्था लिमिटेड, महेन्द्रद्वार सहकारी संस्था लिमिटेड, ग्रेटगंगासागर बचत तथा ऋण सहकारी संस्था लिमिटेड, नियोग बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड र सुविधानगर जगदम्बा बचत तथा ऋण सहकारी संस्था लिमिटेड पनि छन् ।
कर्जा सूचना केन्द्रका अनुसार श्री स्वप्नशील बचत तथा ऋण सहकारी संस्था लिमिटेड, चन्द्रज्योती मल्टिपर्पोज को-अपरेटिभ प्रालि, शुभलाभ बचत तथा ऋण सहकारी संस्था लिमिटेड, पानस बचत तथा ऋण सहकारी संस्था लिमिटेड र सातथुम्के चिया कृषक सहकारी संस्था लिमिटेडलाई पनि कालाेसूचीमा राखिएकाे छ ।