नेपालमा लगानी गर्न रुसी उद्याेगीकाे चासाे

लगानी सम्मेलन नजिकिँदै गर्दा रुसका उद्योगी व्यवसायीले नेपालमा लगानीका क्षेत्रबारे चासाे राखेका छन् । रुसी उद्याेगीको एक टाेली लगानीकाे सम्भावना अध्ययन गर्न बिहीबार नेपाल आउने भएकाे छ ।
अर्थमन्त्री वर्षमान पुनसँगकाे भेटमा नेपालका लागि रुसी राजदूत अलेक्सेई ए. नोभिकोभले रुस उद्योग वाणिज्य संघको नेतृत्वमा रुसी व्यवसायीको टोली नेपाल आउन लागेको जानकारी गराएका हुन् । भेटमा पुनले ठूला जलविद्युत आयोजना र रासायनिक मल कारखानामा लगानी गर्न रुसलाई आग्रह गरे ।
‘हामीले विद्युतका लागि अन्तर्राष्ट्रिय बजारको सुनिश्चितता गरिसकेका छौं, नेपालको जलविद्युत क्षेत्र अन्तर्राष्ट्रिय लगानीकर्ताका लागि उपयुक्त क्षेत्र हो’, मन्त्री पुनले भने, ‘सरकारले स्वदेशमै रासायनिक मल कारखाना खोल्ने नीति लिएको छ । रुस मलको कच्चा पदार्थ उत्पादन गर्ने विश्वकै ठूलो देश हो । मल कारखाना खोल्न इच्छुक हुनुहुन्छ भने पनि वातावरण बनाउन तयार छौं ।’
जवाफमा राजदूत नोभिकोभले मन्त्री पुनको प्रस्ताव सकारात्मक रहेको भन्दै रुसी लगानीकर्तासँग कुरा गर्ने बताएका छन् । भू-राजनीतिक कारणले पनि नेपालमा रुसी लगानीका लागि अत्यन्तै सकारात्मक वातावरण रहेको उनको भनाइ थियो ।
नेपाल-भारत सीमा क्षेत्रमा दुवै मुलुकलाई लक्षित गरी मल कारखाना खोल्ने वा उत्पादित सामग्री ल्याएर बेच्न सकिने दुवै सम्भावना रहेको उनले औंल्याए ।