पाइपलाइनमा रहेका ३७ मध्ये १६ जलविद्युत् कम्पनी मात्रै आइपिओका लागि याेग्य

अब जलविद्युत कम्पनीहरूले आयोजनाबाट विद्युत उत्पादन सुरु गरेपछि मात्र सर्वसाधारणका लागि आईपीओ जारी गर्न पाउने भएका हुन् ।

‘जलविद्युत क्षेत्रका कम्पनीहरूको उत्पादन शुरु गरेपछि मात्र प्राथमिक शेयर निष्कासन गर्न सक्ने व्यवस्था गर्ने’, नेपाल धितोपत्र बोर्ड (सेबोन) को धितोपत्र बजार तथा वस्तु विनिमय बजारसम्बन्धी नीति तथा कार्यक्रममा उल्लेख छ ।

धेरैजसो जलविद्युत कम्पनीहरूले आयोजना निर्माणकै क्रममा आईपीओ जारी गरेर सर्वसाधारणबाट पुँजी संकलन गर्दै आएका थिए । तर, अब सेबोनले भने गर्न लागेको नयाँ व्यवस्था कार्यान्वयनमा आएपछि भने जलविद्युत कम्पनीहरूले आईपीओमा जानका लागि उत्पादन शुरु गर्नुपर्ने भएको छ ।

आईपीओ निष्कासनको पाइपलाइनमा सबैभन्दा बढी जलविद्युत कम्पनी छन् । आईपीओ निष्कासनका लागि सेबोनमा आवेदन दिएर बसेका ७७ कम्पनीमध्ये ३७ वटा जलविद्युत कम्पनीहरू छन् ।

सेबोनको नयाँ नियम पूर्ण रूपमा कार्यान्वयनमा आएमा पाइपलाइनमा रहेका कम्पनीहरूमध्ये अधिकांश कम्पनीहरू तत्काल अयोग्य हुने देखिन्छन् । आईपीओ पाइपलाइनमा रहेका कम्पनीहरूको सूचीलाई हाल सञ्चालनमा रहेका जलविद्युत आयोजनाहरूको सूचीसँग तुलना गरेर हेर्दा १६ वटा कम्पनी सञ्चालनमा रहेको देखिन्छ ।

सेबोनको नयाँ व्यवस्था कार्यान्वयनमा आएमा भुजुङ हाइड्रोपावर, याम्बालिङ हाइड्रोपावर, टक्सार पिखुवा खोला हाइड्रोपावर, रिज लाइन इनर्जी, कालंगा हाइड्रो, सानिगाड हाइड्रो, शिखर पावर डेभलपमेन्ट, सिउरी न्यादी पावर र माउन्ट एभरेष्ट पावर डेभलपमेन्ट लिमिटेडले आईपीओ अनुमति पाउनेछन् ।

यस्तै आशुतोष इनर्जी, हिल्टन हाइड्रो इनर्जी, स्नो रिभर्स, चम्पावती हाइड्रोपावर, नुम्बुर हिमालय हाइड्रोपावर, झ्यामोलोङ्मा हाइड्रोपावर डेभलपमेन्ट कम्पनी र म्याग्दी हाइड्रोपावर लिमिटेड पनि विद्युत उत्पादन थालिसकेका छन् । यी जलविद्युत आयोजनाहरू सेबोनको नयाँ व्यवस्था अनुसार आईपीओ निष्कासनका लागि अनुमति पाउनेछन् । बाँकी २१ जलविद्युत आयोजनाहरूले उत्पादन थालेपछि मात्रै सेबोनको अनुमति पाउने देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो लग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

पाइपलाइनमा रहेका ३७ मध्ये १६ जलविद्युत् कम्पनी मात्रै आइपिओका लागि याेग्य