अर्थतन्त्रका समस्या समाधानका लागि सर्वपक्षीय छलफलको प्रस्ताव

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले अर्थतन्त्रका समस्या समाधानका लागि सर्वपक्षीय छलफलको प्रस्ताव राखेका छन् । उनले पछिल्लो समय निजी क्षेत्रको मनोबल कमजोर भएको बताए ।
चितवनमा शुक्रबार भरतपुर भ्रमण वर्ष २०२४ काे उद्घाटन समारोहमा बोल्दै अध्यक्ष ढकालले भने, ‘राजनीति र अर्थतन्त्र फरक भएको कुरा सबैलाई थाहा छ । नेपालमा राजनीतिक परिवर्तन सहज रुपमा गरेका छौं । अर्थतन्त्र मन्दी आएको हिसाबमा समाधान गर्नको लागि सरकारले सक्रिय रुपमा पहल गर्नुपर्छ । सर्वपक्षीय सहभागितामा समाधानको पहल अपेक्षा गरिरहेका छौं ।’
उनले मुलुक समृद्धिको सूत्र पर्यटन भएकाले सरकारले त्यही अनुसार नीति कार्यक्रम र बजेट ल्याउनु पर्नेमा जोड दिए । नेपालमा पर्यटनको सम्भावना अथाह भए पनि तिनीहरुको प्रचारप्रसार गर्न नसकिएको उनले उल्लेख गरे । आवश्यक पूर्वाधार बनाउन सकिए मात्रै पर्यटक आगमनमा गुणात्मक परिवर्तन ल्याउन सकिने उनले बताए ।
उनले सरकारले अर्बौं लगाएर बनाएका दुई वटा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा ल्याउनुपर्ने र सरकारले पर्यटन सुधारको लागि हिल स्टेशनको विकास गर्नुपर्ने जरुरी रहेको बताए ।