बैंककाे ऋण तिर्दिन भन्नेलाई अब छुट दिइन्न : अर्थमन्त्री

अर्थमन्त्री वर्षमान पुनले बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋण नतिर्ने अभियान सञ्चालन गर्नेलाई सरकारले छुट नदिने चेतावनी दिएका छन् ।
आफूलाई बधाई दिन आएको टोलीसँग बिहीबार अर्थ मन्त्रालयमा कुरा गर्दै पुनले जनताको निक्षेपबाट लिइएको बैंकको ऋण तिर्दिन भन्ने र तिर्नु हुन्न भन्ने प्रवृत्तिलाई सरकारले कडाइका साथ नियन्त्रण गर्ने बताए । ‘बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋण तिर्दिन भन्ने र तिर्नु हुन्न भनेर अभियान चलाउने प्रवृत्तिलाई अब छुट दिन सकिँदैन’, उनले भने, ‘त्यो प्रवृत्तिलाई प्रोत्साहित गर्ने काम कसैले पनि गर्नु हुँदैन ।’
निजी क्षेत्रको मनोबल घटाउने प्रवृत्तिले अर्थतन्त्र र मुलुकको समग्र समृद्धिको यात्रालाई अवरुद्ध पार्ने भएकाले सरकारले लगानीकर्ताको मनोबल गिर्न नदिने उनले बताए । मुलुकमा लगानीको वातावरण र लगानी सुरक्षाको ग्यारेण्टी गर्न सकिए मात्र बाह्य लगानी आकर्षित गर्न सकिनेमा सरकार स्पष्ट रहेको पनि पुनले उल्लेख गरे । ‘सरकारले लगानीको वातावरण बनाउँछ, सुरक्षाको प्रत्याभूति दिलाउँछ’, उनले भने ।