नेपालकाे आर्थिक वृद्धि ३.६ प्रतिशत हुने एडीबीकाे प्रक्षेपण

एसियाली विकास बैंक (एडीबी) ले चालु आर्थिक वर्ष (आव) २०८०/८१ मा नेपालको अर्थतन्त्र ३.६ प्रतिशतले बढ्ने प्रक्षेपण गरेको छ । एडीबीले बिहीबार ‘एसियन डेभलपमेन्ट आउटलुक २०८०’ सार्वजनिक गरी नेपालको अर्थतन्त्रकाे प्रक्षेपण गरेको हो । एडीबीले गत आव २०७९/८० मा १.९ प्रतिशतले वृद्धि दर प्रक्षेपण गरेको थियो ।
केही दिनअघि विश्व बैंकले नेपालको आर्थिक वृद्धि दर ३.३ प्रतिशत हुने अनुमान सार्वजनिक गरेको थियो । सरकारले भने चालु आवमा ७ प्रतिशत हाराहारी वृद्धि दर अनुमान गरेको छ । चालु आव धान उत्पादन बढ्नु, ऊर्जा उत्पादनमा हुने वृद्धि सकारात्मक रहेको देखिएको एडीबीले जनाएको छ । निर्माण र व्यापार केही सुस्ताए पनि यस क्षेत्रमा सुधार भए अर्थतन्त्र अझ धेरै विस्तार हुने उसको भनाइ छ ।
एडीबीका अनुसार पर्यटक आगमनले सकारात्मक प्रभाव पारिरहेको छ । यसले रोजगारीमा समेत ठूलो योगदान गर्छ ।
‘मौद्रिक नीतिमा क्रमिक लचकतासँगै उपभोक्ता र लगानीकर्ताको आत्मविश्वासमा सुधार भएका कारण नेपालको आर्थिक गतिविधि प्रोत्साहित हुने अपेक्षा गरिएको छ,’ नेपालका लागि एडीबीका राष्ट्रिय निर्देशक आर्नो कोश्वाले भने, ‘यसबाहेक सरकारले आर्थिक वर्षको पछिल्लो ६ महिनामा पूँजीगत खर्चमा दिएको तीव्रता र आर्थिक वर्ष २०८०/८१ अन्त्यसम्म थप जलविद्युत् परियोजनाको उत्पादन सुरु भई २०७९/८० मा औद्योगिक वृद्धि बढ्दै जाने प्रक्षेपण छ ।’
एडीबी आउटलुक अनुसार कर्जा नियन्त्रणमा सहजता, ब्याजदरमा थप गिरावट र पर्यटन आयमा विस्तारले सेवा क्षेत्रको वृद्धिले पनि गति दिने छ । धान उत्पादन वृद्धि भए पनि हिउँदे वर्षा कम हुँदा हिउँदे बाली र अन्य कृषि उत्पादनमा आएको कमीले कृषि क्षेत्रमा पनि २०७९/८० को २.७ प्रतिशतको दाँजोमा २.८ प्रतिशतको सीमान्त वृद्धि हुन सक्ने छ ।
त्यसैगरी पेट्रोलियम पदार्थ मूल्यमा देखिएको गिरावट र भारतमा महँगी न्यूनीकरणसँगै नेपालमा औसत महँगी गत आर्थिक वर्ष ७.७ प्रतिशतको दाँजोमा चालु आव ६.५ प्रतिशतमा ओर्लने प्रक्षेपण एडीबीको छ ।
आउटलुक अनुसार नेपालको वाह्य क्षेत्र जोखिम सापेक्ष रूपमा नियन्त्रणमा छ । चालु आव पहिलो ६ महिना बचतमा रहे पनि चालु खता पुनः घाटामा जान सक्ने देखिन्छ । अघिल्लो आवको सोही अवधिसँग दाँज्दा वार्षिक व्यापार घाटा ४.७ प्रतिशतले घटेको छ । विप्रेषण आप्रवाह २२.६ प्रतिशतले बढेको छ भने चालु खाता १ अर्ब २० करोड अमेरिकी डलर बचतमा छ ।