कर्जाकाे ब्याजदर दुई वर्षयताकै सस्तो

बैंक तथा वित्तीय संस्थाको ब्याजदर दुई वर्षयताकै सस्तो भएको छ । नेपाल राष्ट्र बैंकको तथ्यांकले बैंकहरुको कर्जाकाे ब्याजदर करिब २ वर्षयताकै सस्तो देखाएको हो ।
बैशाखका लागि २० वटा वाणिज्य बैंकको औसत आधारदर ८.८५ प्रतिशत छ । सबैभन्दा बढी आधारदर हिमालयन बैंकको ९.८५ प्रतिशत छ । सबैभन्दा कम स्ट्याण्डर्ड चार्टर्ड बैंकको ७.२९ प्रतिशत छ । यो दुई वर्षयताको सस्तो आधारदर हो ।
२०७८ माघमा बैंकहरुको औसत आधारदर ८.४९ प्रतिशत थियो । त्यसको एक वर्षपछि २०७९ पुसमा १०.८५ प्रतिशतसम्म औसत आधारदर पुग्यो । ऋणको ब्याजदर महँगो हुँदा लगानी गर्न नसकिने भन्दै व्यवसायीहरु घटाउनुपर्ने लबिङमा उत्रिए । २०७९ फागुनसम्म आइपुग्दा बैंकहरुको औसत आधारदर ८.७७ प्रतिशतमा झर्यो ।
कर्जाको ब्याजदर निर्धारणमा विभिन्न तत्व समावेश भएका हुन्छन् । बैंक तथा वित्तीय संस्थाहरुबाट कर्जा उपभोग गर्ने ऋणीहरुमा समान रुपले लागू हुने तथा स्पष्टसँग पहिचान गर्न सकिने कर्जाको ब्याजदर निर्धारणका तत्वहरु समावेश गरिएको दर नै आधार ब्याजदर हो । तसर्थ, आधार दर कर्जा प्रवाहको वास्तविक ब्याजदर नभई ब्याजदर निर्धारण गर्ने आधार दरमात्र हो ।
नेपालका बैंक तथा वित्तीय संस्थाले आधार दरमा अधिकतम ५ प्रतिशत ब्याजदर थपेर ऋणको ब्याजदर तय गर्दै आएका छन् ।