समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको अध्यक्षमा पूर्वन्यायाधीश गौतम नियुक्त

सरकारले समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको अध्यक्षमा उच्च अदालतका पूर्वन्यायाधीश रमणकुमार गौतमलाई नियुक्त गरेको छ।मन्त्रिपरिषद्को बैठकले उक्त समितिको अध्यक्षमा पूर्वन्यायाधीश गौतमलाई नियुक्त गर्ने निर्णय गरेको हो ।
यसअघि अध्यक्ष काशीराज दाहाल थिए । उनको कार्यकाल सकिएपछि सरकारले नयाँ अध्यक्ष नियुक्त गरेको हो । सरकारले सहकारीलाई समस्याग्रस्त घोषणा गरेपछि यही कार्यालयले ती सहकारीको व्यवस्थापनको जिम्मा लिँदै आएको छ । त्यस्ता समस्याग्रस्त सहकारीका बचतकर्ताको बचत फिर्ता, ऋण उठाउने लगायतको काम गर्दै आएको छ ।
सहकारी ऐन, २०७४ को दफा १०४ बमोजिम नेपाल सरकारबाट समस्याग्रस्त घोषित सहकारी संस्थाहरूको सम्पत्ति व्यवस्थापन तथा दायित्व भुक्तानी गर्ने जिम्मा यो समितिलाई छ ।
नेपालमा विभिन्न प्रकृतिका ३० हजार भन्दा बढी सहकारी संस्थाहरू सञ्चालित छन् । ती मध्ये करिब आधा बचत तथा ऋणको कारोबार गर्ने वित्तीय प्रकृतिका सहकारी संस्थाहरू सञ्चालित छन्। हालसम्म २० वटा सहकारी समस्याग्रस्त घोषणा भइसकेको छ ।