आयल निगमका ६ डिपो प्रमुखसहित २१ कर्मचारीको सरुवा

नेपाल आयल निगम लिमिटेडले ६ डिपो प्रमुखसहित २१ कर्मचारीको सरुवा गरेको छ । निगम व्यवस्थापनको निर्णयअनुसार मधेश प्रादेशिक कार्यालय, अमलेखगन्जमा उपनिर्देशक प्रलयंकर आचार्यलाई पठाएको छ । उनी केन्द्रीय कार्यालयको प्रशासन महाशाखामा थिए ।
अमलेखगंजका विनीतमणि उपाध्यायको केन्द्रीय कार्यालय इन्जिनियरिङ परियोजना तथा सूचना प्रविधि विभाग प्रमुखमा सरुवा भएको छ । पाइपलाइन तथा भण्डारण गृहलगायतका ठूला परियोजना निर्माण गर्ने यो विभागको एक वर्षयता कार्यसम्पादन सन्तोषजनक नभएकाले न्यून बजेट खर्च भएको भन्दै । उपाध्यायलाई इन्जिनियरिङ विभागको नेतृत्वमा ल्याएको छ ।
सबै कर्मचारीहरू अनुभव र कार्यक्षमताका आधारमा सरुवा भएका छन । चालू आव ०८१/८२ मा निगमले अमलेखगन्ज–चितवन तथा सिलगुढी–झापा पाइपलाइन र झापा, चितवन तथा भैरहवामा भण्डारणगृह निर्माण सुरु गर्दै छ ।इन्जिनियरिङ विभाग प्रमुख रहेका सुरज साहलाई आन्तरिक नियन्त्रण तथा अनुगमन विभाग प्रमुखमा । गण्डकी प्रादेशिक कार्यालय, पोखरामा उपनिर्देशक रामकुमार न्यौपानेलाई पठाइएको छ । सो ठाउँका अभिषेक ठाकुरलाई इन्जिनियरिङ विभागमा ल्याइएको छ ।
हाल विराटनगर कार्यालय प्रमुख रहेका उपनिर्देशक नवविनोद पोखरेलको कार्यशैलीलाई लिएर केन्द्रीय कार्यालयमा गुनासो समेत आइसकेको छ । त्यसैले उनलाई केन्द्रीय कार्यालय तान्ने र सूरज ठाकुरलाई विराटनगर पठाउने योजना भए पनि केही समयलाई रोकिएको छ ।
कर्णाली प्रादेशिक कार्यालय, सुर्खेतमा प्रबन्धक दीपक घिमिरेलाई पठाइएको छ । उनी केही बर्ष पहिला सोही कार्यालय प्रमुख थिए ।यसपटक कर्णालीको माग धान्ने भण्डारणगृह निर्माण गर्ने योजना कार्यान्वयन गर्ने जिम्मेवारी दिएर उनको सरुवा गरिएको छ ।नेपालगन्जको इन्धन डिपोमा प्रबन्धक मनोहर डिसी र हवाई इन्धन कार्यालयमा सहायक प्रबन्धक मोहनविक्रम खड्कालाई पठाइएको छ ।
डिसी केन्द्रीय कार्यालय र खड्का बागमती प्रादेशिक कार्यालय, थानकोटमा कार्यरत छन् । झापाको चारआलीस्थित शाखा कार्यालय प्रमुखमा गीता सापकोटा धिताललाई पठाइएको छ ।
त्यहाँ कार्यरत शरण भट्टराईलाई केन्द्रीय कार्यालयको गुणस्तर विभाग तानिएको छ । भट्टराईले दुःख दिएको भन्दै सरुवा गर्न पूर्वका व्यवसायी र कर्मचारीले समेत व्यवस्थापनलाई सुझाएका थिए ।
झापाको भद्रपुर विमानस्थलस्थित हवाई इन्धन कार्यालय प्रमुखमा दुईवर्षे कार्यकाल पूरा गरेका कपिलदेव भट्टलाई केन्द्रीय कार्यालय तानेर त्यहाँ सन्दीप रिमाललाई पठाइएको छ ।