पाँचाैं पूर्वाधार सम्मेलन आगामी २७-२८ भदौमा हुने

पाँचौं संस्करणको पूर्वाधार सम्मेलन आगामी २७-२८ भदौमा काठमाडौंमा हुने भएको छ । नेपाल उद्योग परिसंघले पत्रकार सम्मेलन आयोजना गरेर यसबारे जानकारी दिएको हो ।
पत्रकार सम्मेलनमा परिसंघ अध्यक्ष राजेशकुमार अग्रवालले सार्वजनिक निजी साझेदारी अवधारणा अनुरूप नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, लगानी बोर्डसँगको सहकार्य सम्मेलन आयोजना गर्न लागिएको जानकारी दिए ।
रणनीतिक लगानीमार्फत दिगो विकास भन्ने मुल भावका साथ पाँचौं संस्करणको ‘बीवाईडी नेपाल इन्फ्रास्ट्रक्चर समिट २०२४’ आयोजना हुन लागेको परिसंघले जनाएको छ । सम्मेलनबाट प्राप्त सुझाव नेपाल सरकारलाई उपलब्ध गराइने अग्रवालकाे भनाइ छ ।
कार्यक्रममा लगानी बोर्डका निमित्त प्रमुख कार्यकारी अधिकृत प्रधुम्नप्रसाद उपाध्यायले लगानी सम्मेलनका क्रममा राखिएका परियोजनाहरू पूर्वाधार सम्मेलनमा पनि राखिने बताए । सार्वजनिक निजी साझेदारी अवधारणा अनुसार पूर्वाधार सम्मेलनमा बोर्डले सहकार्य गरेको उनको भनाइ छ ।
पूर्वाधारका लागि लगानी प्रबर्द्धन, पूर्वाधार विकासका सफल अभ्यास, पूर्वाधार क्षेत्रको विकासका अवरोधलगायतका विषयमा राष्ट्रिय, अन्तर्राष्ट्रिय पूर्वाधार विज्ञ, लगानीकर्ता, तीनै तहका सरकार, निजी क्षेत्रका प्रतिनिधिबीच गहन रुपमा छलफल हुनेछ ।
‘बीवाईडी नेपाल इन्फ्रास्ट्रक्चर समिट २०२४’ मा क्षेत्रीय यातायात, ऊर्जा, सहरी विकासलगायत विभिन्न १२ वटा विषयगत क्षेत्रमा गहन छलफल हुने उपाध्यक्ष वीरेन्द्रराज पाण्डेले जानकारी दिए । सम्मेलनमा छोटो समयमै पूर्वाधार क्षेत्रमा उल्लेख्य प्रगती हासिल गरेका देशका विज्ञहरू, लगानीकर्ताहरूको सहभागिता रहनेछ ।