आमजनताले स्वामित्व लिन सक्ने खालका कार्यक्रम बजेटमा राख्न निर्देशन

अर्थमन्त्री वर्षमान पुनले आमजनता र सबै सरोकारवालाले स्वामित्व लिन सक्ने खालका कार्यक्रम आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेटमा समेट्न निर्देशन दिएका छन् ।

अर्थसचिव कृष्णहरि पुष्कर, राजश्व सचिव रामप्रसाद घिमिरे, बजेट लेखन समितिका सहसचिवहरू, मन्त्रालयका सबै महाशाखा प्रमुख, विभागीय प्रमुख तथा महानिर्देशक र उपमहानिर्देशकहरूलाई राखेर शनिबार बजेटका प्राथमिकताबारे निर्देशन दिएका हुन् ।

उनले सरकारको नीति तथा कार्यक्रम, बजेट र मौद्रिक नीतिबिच तालमेल हुनुपर्नेमा जोड दिँदै सत्ता साझेदार दलहरूबीचको न्यूनतम साझा कार्यक्रमभित्र रही विषयगत मन्त्रालयहरूसँगको समन्वयमा बजेट वक्तव्य तयार पार्न निर्देशन दिए । ‘उत्पादन र उत्पादकत्व अभिवृद्धिमार्फत रोजगारीका थप अवसर सिर्जना हुने अनि आयात प्रतिस्थापन र निर्यात प्रवर्द्धन हुने खालको नीति बजेटमा आउनुपर्छ’, पुनले भने, ‘बजेट विनियोजन गर्दा ‘बहुजन हिताय’ भन्ने मान्यताका आधारमा बढीभन्दा बढी जनतालाई छुने र उनीहरूले स्वामित्व लिन सक्ने हुनुपर्छ ।’

उत्पादन वृद्धिमार्फत रोजगारी सिर्जना गर्ने, आयात प्रतिस्थापन गरी वैदेशिक व्यापार घाटा कम गर्नेमा आफ्नो जोड रहने उनले बताए ।

मन्त्री पुनले कृषिजन्य उपज र बजारबीच समन्वय हुने कार्यक्रम बजेटमा राखिने जनाए । यस्तै बजारको स्थायित्वका लागि उत्पादनको आकारमा वृद्धि जरुरी रहेकामा जोड दिए । उनले यो वर्षको बजेट निजी क्षेत्र र लगानीमैत्री हुने बताए । ‘यो वर्षको बजेट निजी क्षेत्र र लगानीमैत्री बजेट हुनेछ’, मन्त्री पुनले भने, ‘निजी क्षेत्रका जेन्यून लगानीकर्ताका लागि ‘रेड कार्पेट’ बिछ्याउने नीति लिइने भएकाले यसकै वरिपरि रहेर बजेट बनाउनुपर्नेछ ।’

मन्त्री पुनले अर्थ मन्त्रायका सहसचिव धनिराम शर्माको नेतृत्वमा शुक्रबार सहसचिवहरू रितेशकुमार शाक्य, महेश आचार्य, रामप्रसाद आचार्य, ईश्वरी अर्याल र पार्वती शर्मा सदस्य रहेको बजेट लेखन समिति गठन गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो लग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

आमजनताले स्वामित्व लिन सक्ने खालका कार्यक्रम बजेटमा राख्न निर्देशन