अब कसरी अघि बढ्छ गभर्नर नियुक्ति प्रक्रिया ?

नयाँ गभर्नर नियुक्तिका लागि गठित सिफारिस समितिका सदस्य पूर्व गभर्नर डा. विजयनाथ भट्टराईले राजीनामा दिएपछि अब नयाँ गभर्नर नियुक्तिको प्रक्रिया के हो भन्ने चासो बढेको छ ।
उनले १ महिनासम्म एउटा पनि बैठक बस्न नसकेको भन्दै राजीनामा दिएका हुन् । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले डा. विजयनाथ भट्टराईले राजीनामा दिएको बताए । अब उनको ठाउँमा अर्को सदस्य नियुक्ति गरेर नयाँ गभर्नर नियुक्तिका लागि गठित सिफारिस समितिले काम गर्ने उनले बताए ।
अर्थमन्त्री पौडेलले भने, ‘अब अर्को सदस्य समितिमा ल्याएर काम अगाडि बढ्ने छ । अर्को समिति बन्दैन । यही समितिमा एक जना सदस्य ल्याएर काम अगाडि बढ्छ । विभिन्न कारणले गर्दा समितिको बैठक नबसेको हो । अदालतमा मुद्दा लगायतका विषयहरु छन् । त्यसै कारणले गर्दा बैठक नबसेको हो ।’
तर, अहिले कसलाई नयाँ सदस्य बनाउने भन्ने टुङ्गो लागेको छैन ।
नयाँ गभर्नर नियुक्ति सिफारिसका लागि सरकारले चैत ११ गते उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलको संयोजकत्वमा ३ सदस्यीय सिफारिस समिति बनाएको थियो ।
अर्थमन्त्री विष्णुप्रसाद पौडेलको संयोजकत्वमा विश्व पौडेल र पूर्व गभर्नर विजयनाथ भट्टराई सदस्य थिए ।