गौतमबुद्ध र पोखरा विमानस्थल पूर्ण क्षमतामा सञ्चालन गर्न प्रधानमन्त्रीकाे निर्देशन

प्रधानमन्त्री पुष्पकमल दाहालले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण क्षमतामा सञ्चालन गर्न निर्देशन दिएका छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा शनिबार भएको छलफलमा प्रधानमन्त्री दाहालले ती विमानस्थल पूर्ण क्षमतामा सञ्चालन गर्ने विकल्प र उपायहरूबारे सरोकारवालालाई निर्देशन दिएका हुन् ।
छलफलमा दाहालले दुवै विमानस्थल राष्ट्रिय गौरवका आयोजना र देशका लागि रणनीतिक महत्वका परियोजना भएकाले पूर्ण क्षमतामा सञ्चालनका निम्ति समन्वयकारी रूपमा समाधान खोज्न सरकारी निकायहरुलाई आग्रह गरे ।
राष्ट्रिय गौरवका दुवै परियोजना निर्माणमा राज्यको ठूलो लगानी भएकाे र निजी क्षेत्रले समेत पर्यटन पूर्वाधारमा लगानी गरिसकेकाले ती विमानस्थल पूर्ण क्षमतामा सञ्चालन गर्नुको विकल्प नरहेको बताए । प्रधानमन्त्री दाहालले विमानस्थल सञ्चालनको ठोस प्रस्ताव ल्याउन पर्यटन मन्त्रालय र नागरिक उड्डयन प्राधिकरणलाई निर्देशन दिए ।
पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले आवश्यक गृहकार्य गरेर विमानस्थल सञ्चालनकाे ठोस प्रस्ताव प्रस्तुत गर्ने बताए । पर्यटन मन्त्रालयका सचिव गणेशप्रसाद पाण्डेले सहुलियतपूर्ण प्याकेजसहितका विकल्पमा छलफल गरेर ठोस प्रस्ताव प्रस्तुत गर्ने बताए ।