यार्सागुम्बाको व्यापार गर्ने भन्दै ठग्ने पक्राउ

यार्सागुम्बाको व्यापार व्यवसाय गर्ने भन्दै ठगी गरेको आरोपमा जाजरकोटको नलगाड नगरपालिका–७ दल्ली घर भएका ४१ वर्षीय दीपेन्द्र सिंह पक्राउ परेका छन् ।
उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ठमेलको एक दोहोरी साँझबाट पक्राउ गरेको हो । उनले सामाजिक सञ्जालमार्फत विभिन्न व्यक्तिसँग सम्पर्क गर्ने र आफू अमेरिकबाट फर्केको पूर्वप्रहरी बताउने गरेका थिए ।
नेपालमा अहिले यार्सागुम्बाको व्यापार गर्ने गरेको, त्यसमा लगानी गरे फाइदा हुन्छ भन्दै उनले रकम लिएर ठगी गरेको अपराध अनुसन्धान कार्यालयका एसपी अंगुर जिसीले बताए ।
उनले ३६ लाख २ हजार १६६ रुपैयाँ ठगी गरेको प्रहरीको भनाइ छ । उनीविरुद्ध जिल्ला प्रहरी कार्यालय सुर्खेतमा ३० लाख बराबरको बैंकिङ कसुरको मुद्दा रहेको छ । प्रहरीमा भर्ती गराइदिने भन्दै १० लाख ठगी गरेको आरोपमा बाँके प्रहरीमा र सेनामा भर्ती गराउने भन्दै ४ लाख ठगी गरेको मुद्दा इलाका प्रहरी कार्यालय कोहलपुरमा पनि रहेको जिसीले बताए ।