मधेश सरकारले ल्याएको बजेटको दुईथरी रेडबुक

मधेश सरकारले ल्याएको आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेटको दुईथरी रेडबुक भेटिएको छ । आजको प्रदेशसभा बैठकमा जसपा नेपालका संसदीय दलका नेता तथा पूर्वमुख्यमन्त्री सरोजकुमार यादवले रेडबुक नै दुई खालको बनाइएको र लगभग ८ हजार योजना लुकाएको दाबीसहित दुवै रातो किताब देखाए ।

बजेट ल्याएको १० दिनपछि सांसदहरूलाई सदनमा रेडबुक बाँडिएको थियो, जुन रेडबुक ४६१ पेजको छ । तर, वास्तविक ७५५ पेजको रेडबुक देखाउँदै यादवले २९४ पेजका करिब ८ हजार योजना लुकाइएको जिकिर गरे ।

उनले बजेटमा बिचौलिया हावी भएको र त्यसलाई सुधार्न भएको सहमतिअनुसार कार्यदल गठन भएपनि वास्तविक रेडबुक लुकाएकोले अब कार्यदललाई पनि नमान्ने प्रष्ट्याए । अर्थमन्त्रीले आर्थिक अपराध गरेको आरोपसहित यादवले राजीनामा नदिएसम्म संसद बहिष्कार गर्ने बताए ।

उनले भने, ‘विगतको वर्षमा पनि बजेटमा गडबडी भएको थियो । त्यतिबेला ह्याक गरियो भनियो । हामीले छानबिन समिति गठन गर्न भन्यौं । तर भएन । यो वर्ष न झन् ठूलो गडबडी भएको छ । सरकारले आर्थिक अपराध गरेको छ ।’

उनले थपे, ‘रेडबुकको २९४ पेज गायब पार्ने र संसदलाई छलेर बजेट पास गराउन खोज्ने ? आठौं वर्षसम्म यस्तो कहिले भएन । योजना लुकाएर ठूलो आर्थिक अपराध गरिएको छ । अर्थमन्त्रीले राजीनामा दिनुपर्छ । अर्को अर्थमन्त्री आएपछि मात्र हामी संसदमा बस्छौं ।’

एउटा ३ अर्ब र अर्को ९७ करोड ६० लाखको कुपोषण शीर्षकको छुट भुक्तानीको विनियोजनमा पनि गडबडी भएको उनको आरोप छ ।

पूर्वमुख्यमन्त्री यादवले भने, ‘कुपोषणवाला छुट भुक्तानीका लागि विनियोजन गरेको रकममा एउटा बढी जिरो आएको भन्ने कुरा आएछ । सबै माननीय जीहरुले हजारौं योजना दिनुभएको छ, के ती योजनामा एउटा जिरो थप भयो ? भ्रष्टाचार गर्ने नियतले यस्तो गरिएको छ । बिचौलियाको प्रभावमा आएको सबै बजेट काटेर सुख्खाग्रस्त क्षेत्रका किसानलाई राहत दिइयोस् ।’

यो खबर पढेर तपाईलाई कस्तो लग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

मधेश सरकारले ल्याएको बजेटको दुईथरी रेडबुक