भ्यालेन्टाइन्समा लुम्बिनी केबलकारमा ५०% छुट

लुम्बिनी केबलकारले प्रणय दिवस (भ्यालेन्टाइन डे) लाई लक्षित गरी टिकट दरमा ५० प्रतिशत छुट दिने घोषणा गरेको छ । कम्पनीले माघ २४ गतेदेखि फागुन २ गतेसम्म बुटवल र पाल्पा जोड्ने गरी बनेको केबलकारको दुईतर्फी यात्राको टिकट दर पाँच सय रुपैयाँ कायम गर्ने घोषणा गरेको हो ।
नेपालीसँगै भारतीय नागरिकलाई पनि टिकट दरमा ५० प्रतिशत छुट गरिएको कम्पनीले जनाएकाे छ । कम्पनीले यसअघि ल्याएको ‘मर्निङ अफर’ र दशैं तिहार लक्षित चाडपर्व अफरले आन्तरिक र बाह्य पर्यटकलाई आकर्षित गरेको हुँदा भ्यालेन्टाइन अफरले विशेष गरी युवा पुस्तालाई आकर्षित गर्ने कम्पनीको विश्वास छ ।
केबलकारको टिकट दर एक हजार कायम गरिए पनि सञ्चालनमा आएसंगै नेपालीका लागि ७५० रुपैयाँ ताेकिएकाे छ । बुटवलको गोलपार्क बमघाटमा बटम स्टेशन र पाल्पाको तिनाउ गाउँपालिका बसन्तपुरमा टप स्टेशन रहेको २.६ किलोमिटर दूरीको केबलकार गत जेठ १५ गतेदेखि व्यवसायिक रुपमा सञ्चालनमा आएको थियो ।