थप हवाई रुटका लागि भारतलाई आग्रह

नेपाल सरकारले थप हवाई रुटका लागि भारतलाई फेरि आग्रह गरेको छ ।
भारतमा आयोजना गरिएको नागरिक उड्डयन सम्बन्धी दोस्रो एसिया प्रशान्त मन्त्रीस्तरीय सम्मेलनमा सहभागी हुन पुगेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डेले भारत सरकारलाई यस्तो आग्रह गरेका हुन् ।
लुम्बिनी र पोखरामा रहेको अन्तर्राष्ट्रिय एयरपोर्टका लागि भारतले थप रुट उपलब्ध नगराएका कारण अन्तर्राष्ट्रिय उडानहरू प्रभावित भएका छन् । हाल दुवै एयरपोर्टबाट अन्तर्राष्ट्रिय उडान सञ्चालन हुन सकेको छैन ।
पर्यटनमन्त्री पाण्डेले बिहीबार भारतका नागरिक उड्डयमन्त्री राममनोहर नायडु किन्जरापुसँगको भेटमा थप हवाई रुट उपलब्ध गराउन आग्रह गरेको भारतस्थित नेपाली दूतावासले जनाएको छ । दूतावासका अनुसार मन्त्री पाण्डेले नेपालका विभिन्न सहरमा भारतबाट सिधा उडानका लागि थप एयररुट उपलब्ध गराउन आग्रह गरेका हुन् ।
भारतका संस्कृति तथा पर्यटनमन्त्री गजेन्द्रसिंह शेखावतसँगको भेटमा र सम्मेलनलाई सम्बोधन गर्ने क्रममा पनि मन्त्री पाण्डेले पोखरा र लुम्बिनी अन्तर्राष्ट्रिय विमानस्थल र भारतीय सहरहरूबिच सिधा हवाई उडानका लागि प्रस्ताव गरेका थिए ।
नेपालका लुम्बिनी, पोखराजस्ता सहरमा भारतबाट सिधा उडान तथा थप रुट दिने विषयमा भारतका मन्त्रीहरूले सकारात्मक प्रतिक्रिया जनाएको तर त्यसमा नेपाल सरकारको तर्फबाट पहल हुनुपर्ने नेपाली दूतावासका अधिकारीले बताएका छन् ।