बैंकमा थुप्रियाे ११ खर्ब : ६ खर्ब तत्काल लगानी गर्न सकिने

बैंक तथा वित्तीय संस्थाहरुसँग ११ खर्बभन्दा बढी लगानी योग्य पुँजी थुप्रिएकाे छ । केन्द्रीय बैंकको नीति अनुरूप चैत मसान्तसम्म बैंक तथा वित्त कम्पनीले विभिन्न सुरक्षण लगानीमा राखेर पनि ६ खर्ब रुपैयाँभन्दा माथि तत्काल लगानी गर्न सकिने रकम रहेको वित्तीय रिपोर्टले देखाएकाे छ ।
पछिल्ला दिनहरूमा बैङ्कहरूले अपेक्षित लगानी गर्न सकिरहेका छैनन् । २०८० चैत ३० गतेसम्म कूल ६१ खर्ब ८७ अर्ब ६४ करोड रुपैयाँ निक्षेप सङ्कलन गरेका बैङ्कहरूले यस अवधिमा ५० खर्ब ८४ अर्ब ९३ करोड रुपैयाँ मात्रै कर्जा लगानी गरेका छन् । निक्षेप र कर्जा लगानीको अन्तर ११ खर्ब २ अर्ब ७१ करोड रुपैयाँ छ ।
२०८० असार मसान्तसम्म ४८ खर्ब ७७ अर्ब ४० करोडभन्दा बढी लगानी गरेका बैङ्कहरूले त्यसयता ९ महिनामा यस्तो लगानी जम्मा ४.२५ प्रतिशतले मात्र वृद्धि गर्न सकेका छन् । आर्थिक शिथिलताका कारण उद्योग, व्यापार र आम्दानी नहुँदा बैङ्कहरूले यसअघि नै गरेको लगानी उठ्न सकिरहेको छैन । चैत मसान्तसम्म बैङ्कहरूले गरेको ५० खर्ब ८४ अर्ब ९३ करोड लगानीमा करिब १ खर्ब ९० अर्ब रुपैयाँ बराबरको लगानी जोखिममा परेको छ । यो भनेको कूल लगानीको खराब कर्जा दर (एनपीएल) ३.७३ प्रतिशत हो ।
हाल बैंकिङ क्षेत्रको लगानी ७ खर्ब १९ अर्ब ८४ करोड माथि पुगेको छ तर आम्दानीको स्थितिलाई हेर्ने हो भने वार्षिक औसत ७२ अर्ब हाराहारी छ । जबकि तीन वर्ष अघि अर्थात् आर्थिक वर्ष २०७६/७७ मा जम्मा ५ खर्ब ५८ अर्ब रुपैयाँ हाराहारी मात्र लगानी रहेको बैंक क्षेत्रले करिब ७० अर्ब रुपैयाँ (६९ अर्ब ७५ करोड) आम्दानी गर्न सफल थियो । लगानी बढ्दै जाने तर आम्दानी भने झन् झन् घट्दो स्थितिमा पुगेपछि लगानीकर्ताहरू धमाधम बैंकिङ क्षेत्रबाट बाहिरिने क्रम पनि बढ्दाे छ ।