चिया निर्यात राेकिएकामा महासंघकाे चिन्ता

नेपाल उद्योग वाणिज्य महासंघले एक सातादेखि गुणस्तर परीक्षणको नाउँमा निर्यातका लागि पठाइएका नेपाली चिया भारतको पश्चिम बंगालको पानीट्यांकीमा रोक लगाइएको विषयमा ध्यानाकर्षण भएको जनाएको छ ।

भारतले चिया निर्यातमा अवरोध गरेपछि सिटीसी र अर्थोडक्स चिया बोकेका नेपालका १६ मालवाहक सवारीसाधन पानीट्यांकीमा अलपत्र अवस्थामा छन् ।

भारतले पहिले ५ प्रतिशत कन्साइमेन्ट परीक्षण गरेपछि चिया निर्यात गर्न पाइने प्रावधान थियो तर अहिले शतप्रतिशत चिया परीक्षण गर्नुपर्ने नियम अघि सारेको छ तर यस सम्बन्धमा कुनै लिखित निर्णय भएको छैन । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग र फुड सेफ्टी एण्ड स्ट्याण्डर्ड अथोरिटी अफ इण्डियाबीचको सहमतिलाई समेत बेवास्ता गरी गुणस्तरको बहानामा निर्यातका लागि पठाइएका नेपाली चिया बोकेका मालबाहक ट्रकहरु भारतीय नाकामा रोकिनु चिन्ताको विषय रहेकाे महासंघले जनाएकाे छ ।

महासंघले विज्ञप्ति प्रकाशित गरी नेपालको वैदेशिक व्यापारको करिब दुई तिहाइ हिस्सा ओगटेको भारतले हरेक वर्ष जस्तै नेपाली कृषि उत्पादनको निकासीमा विभिन्न बहानामा रोक लगाएकोप्रति आश्चर्य व्यक्त गरेकाे छ ।

‘विभिन्न समयमा भएका निर्णय तथा वाणिज्य सन्धिको प्रावधानसमेतलाई बेवास्ता गर्दै गुणस्तर परीक्षणको बहानामा नेपाली चियाको भारत निकासीमा समस्या खडा गरिनु चिन्ताको विषय हो,’ महासंघले भनेकाे छ ।

भारतले विभिन्न २० वटा नेपाली कृषि वस्तुहरूको भारत निर्यात पूर्व गर्नुपर्ने परीक्षणका लागि नेपालको केन्द्रीय प्रयोगशालालाई नै मान्यता दिने सहमति पनि गरेको थियो । यस सम्बन्धमा अगष्ट सन् २०१९ मा सम्पन्न परराष्ट्र मन्त्रीस्तरीय संयुक्त आयोगको बैठकका क्रममा पनि नेपालको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग र फुड सेफ्टी एण्ड स्ट्याण्डर्ड अथोरिटी अफ इण्डियाबीच सहमतिपत्रमा हस्ताक्षरसमेत भएको थियो ।

‘भारतले अहिले लगाउन खोजेको नयाँ नियम पूरा गरेर चिया निर्यात गर्नु असम्भव जस्तै छ, सम्भव नहुने व्यवस्था लागू गर्न खोज्नु भनेको नेपाली उत्पादनलाई प्रभावित पार्न र निरुत्साहित गर्न खोज्नु हो,’ विज्ञप्तिमा भनिएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो लग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

चिया निर्यात राेकिएकामा महासंघकाे चिन्ता