लगानीका लागि नेपाल उपयुक्त गन्तव्य : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल लगानीका लागि उपयुक्त गन्तव्य भएको बताएका छन् । ‘नेपाल लगानी सम्मेलन २०२४’ उद्घाटन गर्दै दाहालले नेपाल कानुनी, भौगोलिक एवं रणनीतिक तवरले लगानीका लागि सम्भावनायुक्त देश भएको बताए ।

उदार आर्थिक नीतिप्रति पूर्ण प्रतिबद्ध रहेको उल्लेख गर्दै उनले नेपालमा लगानीमैत्री वातावरण सिर्जना भएको जानकारी दिए । लगानीकर्ता, उद्योगी, नवप्रवर्तक र व्यवसायीलाई सहज अवस्था सिर्जना गर्न नेपाल निरन्तर अगाडि बढेको दाहालले आश्वस्त पारे । उनले हालै मात्र व्यवसाय र लगानीसम्बन्धी विभिन्न आठ कानुन परिमार्जन गरिएको जानकारी गराए । उनले भने, ‘मलाई विश्वास छ, यसले नेपालमा लगानी गर्ने लगानीकर्ताको आत्मविश्वास बढाउँछ ।’

नेपालमा शान्ति र स्थायित्व कायम भइ आर्थिक विकास र समृद्धिका लागि अनुकूल वातावरण सिर्जना भएको उल्लेख गर्दै दाहालले सङ्घीय शासन प्रणालीले राष्ट्रव्यापी सामाजिक र आर्थिक रूपान्तरणलाई बढावा दिने सन्तुलित विकास दृष्टिकोण सुनिश्चित गरेको स्पष्ट पारे ।

‘नेपालले विदेशी लगानीकर्तालाई सबल नियामक ढाँचा, दोहोरो करमुक्ति, बौद्धिक सम्पत्ति अधिकारको संरक्षण, प्रतिस्पर्धात्मक कर्पोरेट करलगायत धेरै प्रोत्साहन प्रदान गर्दछ’, उनले भने, ‘नेपाल सरकारले हालै द्विपक्षीय लगानी सम्झौताको ढाँचालाई स्वीकृत गरेको छ, यसले द्विपक्षीय लगानीको संरक्षण र प्रवर्द्धन गर्ने लक्ष्य लिएको छ ।’

उनले मित्र राष्ट्रहरूलाई द्विपक्षीय लगानी सम्झौतामा हस्ताक्षर गर्न आह्वान गरे । नेपालले अवलम्बन गरेका उदार नीतिले प्राथमिकताका क्षेत्रमा विदेशी लगानीलाई प्रोत्साहन गर्ने प्रधानमन्त्रीको विश्वास छ । उनले नेपालमा भएका दक्ष जनशक्ति र कम श्रम लागत पनि अन्तर्राष्ट्रिय लगानीकर्ताका लागि आकर्षण हुने बताए ।

प्रधानमन्त्री दाहालले भने, ‘प्रत्यक्ष वैदेशिक लगानीकर्ता र राष्ट्रिय लगानीकर्तालाई कुनै पनि भेदभावपूर्ण व्यवहार नगरिने प्रावधान र विदेशी मुद्रामा नाफा फिर्ता लैजान पाउने सुनिश्चितताले नेपालमा लगानीको आकर्षण अझ बढाउँछ ।’

नेपालको ६० प्रतिशतभन्दा बढी जनसङ्ख्या श्रमिक उमेर समूहभित्र पर्ने बताउँदै प्रधानमन्त्री दाहालले तीव्ररूपमा बिस्तार हुँदै गएको मध्यमवर्गीय जनसङ्ख्याले उपभोक्तामुखी अवस्थाको अपार सम्भावना देखाएको बताए । उनले विदेशी भाषा बोल्ने युवाहरूको सङ्ख्या उल्लेख्य मात्रामा रहँदा अन्तर्राष्ट्रिय लगानीकर्ताहरूलाई श्रमशक्ति खोज्न मद्दत पुग्ने उल्लेख गरे ।

नेपालमा जलविद्युत् उत्पादनको प्रचूर सम्भावना भए पनि हालसम्म तीन हजार २०० मेगावाट मात्रै उत्पादन भएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले करिब पाँच हजार पाँच सय ६८ मेगावाटका ठूला आयोजना सार्वजनिक–निजी साझेदारी (पिपीपी) मार्फत निर्माण वा कार्यान्वयनको चरणमा रहेको बताए ।

प्रधानमन्त्रीले विद्युत् व्यापार सहज तुल्याउन भारतसँग भएको विद्युत् व्यापार सम्झौता, चीनसँग भएको सहकार्यका र समझदारी एवं बङ्गलादेशसँग भएको विद्युत् निर्यातको समझदारीले लगानीका लागि पर्याप्त पूर्वाधार तयार भएको बताए।

प्रधानमन्त्री दाहालले तयारी पोसाक र नेपाली गलैँचा पनि विश्व बजारमा निकासी हुने र गुणस्तरका लागि प्रख्यात भएको उल्लेख गर्दै यस क्षेत्रमा पनि लगानीको प्रचूर सम्भावना रहेको बताए ।

नेपालमा दुई विशेष आर्थिक क्षेत्र सञ्चालनमा आएका र देशका अन्य स्थानमा त्यस्ता आर्थिक क्षेत्र विकास हुने चरणमा रहेको उल्लेख गरे । उनले भने, ‘नेपालमा हाल दश औद्योगिक जिल्ला छन्, थप छ वटा विकास गर्ने योजना छ, यसले लगानीका लागि आवश्यक पूर्वाधार र सेवाको पहुँच सुनिश्चित गर्दछ ।’

उदीयमान बजार भएका भारत र चीन बीचमा रहेको नेपाल रणनीतिकरूपमा पनि लगानीको लागि उपयुक्त गन्तव्य भएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले क्षेत्रीय सम्झौता साफ्टा/बिम्स्टेक र स्वतन्त्र व्यापार व्यवस्थाद्वारा द्विपक्षीय र क्षेत्रीय बजारहरू सुनिश्चित भएको स्पष्ट पारे ।

सम्मेलनमा प्रस्तुत परियोजनाहरूले नेपाल र सम्भावित लगानीकर्ताहरू दुवैलाई फाइदा पुग्ने ठोस नतिजा प्राप्त हुने विश्वास व्यक्त गर्दै प्रधानमन्त्री दाहालले आगामी दशकमा दिगो र उच्च आर्थिक वृद्धि हासिल गर्ने नेपालको लक्ष्य पूरा हुने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो लग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

लगानीका लागि नेपाल उपयुक्त गन्तव्य : प्रधानमन्त्री