कैलालीकाे चिसापानीमा जालपादेवी केबलकार शिलान्यास

कैलाली जिल्लाको चिसापानीमा निर्माण हुने जालपादेवी केबलकारको शिलान्यास भएको छ ।
परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले लम्कीचुहाँ नगरपालिका-३ स्थित कर्णाली चिसापानीमा ३.१ किलोमिटर लामो केबलकारको शनिबार शिलान्यास गरेकी हुन् ।
शिलान्यास कार्यक्रममा बोल्दै परराष्ट्रमन्त्री डा. राणाले जालपादेवी केबलकारको निर्माणले समग्र सुदूरपश्चिम प्रदेशको आर्थिक, सामाजिक तथा सांस्कृतिक विकासमा उल्लेख्य भूमिका खेल्ने बताइन् ।
उनले उक्त आयोजनालाई समयमै सम्पन्न गर्नका लागि आवश्यक सहयोगका लागि सबैमा अपिल गरिन् ।
‘काठमाडौंको चन्द्रागिरिसहित नेपालका सातै प्रदेशमा केबलकार तथा पर्यटन पूर्वाधारहरू निर्माण गरिरहेको आईएमई ग्रुपजस्तो व्यावसायिक समूहलाई सुदूरपश्चिम प्रदेशमा हार्दिक स्वागत गर्न चाहन्छु, यहाँहरूको दक्षता, अनुभव र क्षमता अनुसार यो केबलकार प्रोजेक्ट समयमै सम्पन्न होस् भनी कामना गर्दछु,’ उनले भनिन् ।
जालपादेवी केबलकार प्रालिका अध्यक्ष चन्द्रप्रसाद ढकालले पर्यटनले मात्र नेपालको आर्थिक, सांस्कृतिक र सामाजिक मुलुकको कायापलट गर्न सम्भव रहेका बताए ।
उनले भने, ‘पर्यटन पूर्वाधारमा लगानी गरे मात्र लक्ष्यअनुसार पर्यटक भित्र्याउन सकिन्छ । पर्यटकको बसाई लम्बाउन सकिन्छ । थप विदेशी मुद्रा आर्जन गर्न सकिन्छ । थप रोजगारी सिर्जना गर्न सकिन्छ । थप राजस्व उठाउन सकिन्छ र हामीले अपेक्षा गरेको आर्थिक विकास र सम्मृद्धि हासिल गर्न सकिन्छ।’
केबलकार पर्यटन सर्किट बनाउने आफ्नो लक्ष्यलाई जालपादेवी केबलकार निर्माणको शिलान्यासले नयाँ उत्साह थपेको उनको भनाइ थियो।
लम्की चुहाँ नगरपालिका-३ स्थित चिसापानीदेखि मोहन्याल गाउँपालिका-७ स्थित राजकाँडासम्म पुग्ने ३.१ किलोमिटर लामो केबलकारमा ३४ वटा गोन्डोला हुनेछन् ।
कुल पाँच अर्ब रुपैयाँ लगानी हुने केबलकारको बटम स्टेसनमा केबलकार, होटल, क्यासिनो, ब्याक्वेट हल निर्माण हुनेछन् । यसका साथै टप स्टेसनमा रिसोर्ट, मन्दिर, स्काई वाक, वकिङ ट्रेल, रेस्टुरेन्ट तथा चिल्ड्रेन पार्कसहित अन्य पर्यटकीय तथा मनोरञ्जनात्मक पूर्वाधारहरू निर्माण हुनेछन् ।