अर्थतन्त्र चलायमान बनाउन प्रधानमन्त्रीलाई चेम्बरकाे सुझाव

नीतिगत स्थायित्व र अर्थतन्त्रलाई चलायमान बनाउन नेपाल चेम्बर अफ कमर्सले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ४३ बुँदे सुझाव दिएको छ । चेम्बर अध्यक्ष कमलेशकुमार अग्रवालसहितको पदाधिकारी एवं कार्यसमितिको टोलीले प्रधानमन्त्री ओलीलाई बालुवाटारमा भेटवार्ता गरी सुझाव दिएको हो ।
बजेट र मौद्रिक नीतिको प्रभावकारी समन्वयमार्फत अर्थतन्त्रलाई चलायमान बनाउन चेम्बरले आग्रह गरेको छ । ‘करिब ४ वर्षदेखि मुलुकको अर्थतन्त्र अस्थिर अवस्थामा छ । कोभिड महामारीको प्रभाव, रुस–युक्रेन युद्धले विश्वव्यापी आपूर्ति श्रृङ्खलामा पारेको असर एवं पछिल्लो ३ वर्षदेखिको निरन्तर संकुचित नीतिहरुले आर्थिक गतिविधिमा शिथिलता उत्पन्न भएको छ’, अग्रवालले भने ।
आर्थिक गतिविधिमा आएको संकुचनले माग र आपूर्तिबीच असन्तुलन, निजी क्षेत्रको सम्पत्तिमा संकुचन एवं बैंक तथा वित्तीय संस्थामा तरलता भए पनि निजी क्षेत्रमा लगानी आर्कषण नभएकोप्रति उनले प्रधानमन्त्रीको ध्यानाकर्षण गराए ।
काठमाडौंलगायत मुलुकका अधिकांश ठूला शहरमा व्यापारिक सटर बन्द भएकोप्रति चेम्बरले ओलीको ध्यानाकर्षण गराएको छ । उच्च अंकको आर्थिक वृद्धिदर हासिल गर्न स्थायी रुपमै एकल अंकको ब्याजदर कायम हुनुपर्ने चेम्बरको ठहर छ । मौद्रिक नीतिको आगामी कार्यदिशा पूर्ण रुपले विस्तारित एवं खुकुलो र लचिलो हुनुपर्नेमा पनि चेम्बरले जोड दिएको छ ।