‘विश्वव्यापी तापमान वृद्धिका कारण नेपाललाई हरेक वर्ष ठूलो क्षति’

राष्ट्रिय सभाका सांसद डाक्टर अन्जान शाक्यले कोइला उत्पादनमा नेपालको भूमिका न्युन भए पनि त्यसको असर भोग्न बाध्य हुनु परेको बताएकी छन् ।
अजरबैजानको बाकुमा जारी जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि युएनएफसीसीसीका पक्ष राष्ट्रहरुको २९औँ सम्मेलन (कोप–२९) मा ‘एसियाको कोइलाको उपयोग घटाउने प्रयास : मुख्य निष्कर्ष र साझा मार्ग’ विषयको बहसमा सहभागी हुँदै सांसद शाक्यले यस्तो उल्लेख गरेकी हुन् ।
‘विश्वव्यापी तापमान वृद्धिमा कोइला उत्पादनको प्रमुख भूमिका छ, कोइला त्यस्तो जीवाश्म इन्धन हो जसको प्रयोगले ठूलो मात्रामा कार्वनडाइअक्साइड उत्सर्जन गदर्छ’, शाक्यले भनिन्, ‘कोइला उत्पादनमा नेपालको भूमिका न्युन छ तर एशियाली मुलुकमा पनि मुख्य गरेर चीन र भारत कोइला उत्पादनमा अग्रपङ्त्तिमा छन् । यी दुई राष्ट्रको बिचमा रहेको हाम्रो देश नेपालले ती देशमा उत्पादित तथा प्रयोग गर्ने कोइलाको असर भोग्न बाध्य भएको छ ।’
हरितगृह ग्यास उत्सर्जनमा नेपालको अति न्यून भूमिका रहे पनि विश्वव्यापी तापमान वृद्धिका कारण नेपालले हरेक वर्ष ठूलो क्षति व्यहोर्न बाध्य भएको पनि उनले उल्लेख गरिन् । जलवायु परिवर्तन गराउन हरितगृह ग्यासको मुख्य भूमिका हुन्छ । ऊर्जा, उद्योग र उत्पादन क्षेत्र, कृषि–पशुपालन, वन र फोहोर हरितगृह ग्यास उत्सर्जनका मुख्य स्रोत मानिन्छन् ।
‘हरितगृह ग्यासका कारण नेपालमा रहेका २ हजार ३ सय २३ हिमतालमध्ये २० वटा उच्च जोखिममा रहेकाे तथ्य बाहिर आएका छन्’, उनले भनिन्, ‘हरेक वर्ष वायुमण्डलको तापक्रम बढ्दै जाने र अधिक मात्रामा हिउँ पग्लदै जाने क्रम नरोकिने हो भने हिमताहरुको संख्या बढ्ने र जोखिममा रहेका हिमतालहरु फुट्ने सम्भावना छ ।’
हिमताल फुटेको अवस्थामा नेपालको ठूलो जन–धनको क्षति भोग्न बाध्य हुने खतराप्रति पनि उनले संकेत गरिन् ।