बैंककाे अवस्था खस्किएपछि एनआइसी एसियाका सिइओले दिए राजीनामा

एनआइसी एसिया बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) राेशनकुमार न्याैपानेले राजीनामा दिएका छन् ।
२०७५ मङ्सिरमा सिइओ नियुक्त भएका न्यौपानेलाई २०७९ कात्तिकमा पुन: निरन्तरता दिइएको थियो । कार्यकाल २०८३ कात्तिकसम्म रहे पनि बैंकको अवस्था बिग्रन थालेपछि उनी बीचमै बाहिरिन खोजेका हुन् । तर, न्यौपानेले आक्रामक रूपमा व्यवसाय विस्तार गरेको र त्यसबाट बैंकमा समस्या देखिन थालेको बेला उनी बाहिरिँदा नकारात्मक सन्देश जाने भन्दै सञ्चालक समितिले राजीनामा स्वीकृत गरिनसकेको स्रोतहरूले बताएका छन् ।
न्यौपाने सीइयाे बनेपछि बैंक व्यवसाय विस्तारमा आक्रामक रूपमा लागेको थियो । उनको नेतृत्वमा व्यवसाय बढाउने नाममा जथाभावी कर्जा प्रवाह गरेपछि बैंकको सूचक बिग्रिँदै गएको हो ।
बैंकले प्रकाशित गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार चालू आर्थिक वर्ष (आव) को दोस्रो त्रैमाससम्ममा खुद नाफा ९३ दशमलव शून्य ३ प्रतिशतले घटेको छ । आव २०८०/८१ को पुससम्ममा १ अर्ब ९० करोड रुपैयाँ नाफा गरेको बैंकले आव २०८१/८२ को सोही अवधिमा १५ करोड १७ लाख रुपैयाँ मात्र नाफा कमाएको छ ।
वितरणयोग्य नाफा ऋणात्मक रहेको बैंकको खराब कर्जा पनि ह्वात्तै बढेको छ । गत आवको दोस्रो त्रैमासमा बैंकको खराब कर्जा १ दशमलव १९ प्रतिशत रहेकोमा यस वर्ष ४ दशमलव ६१ प्रतिशत पुगेको छ ।
बैंकको सूचकहरू बिग्रिँदा लगानीकर्ताको हात पनि खाली हुँदै आएको छ । बैंकले गत आव २०८०/८१ को नाफाबाट लाभांश वितरण गरेको छैन । यसअघि बैंकले राष्ट्र बैंकले तोकेअनुसार प्राथमिक पूँजीकोष कायम गर्न नसक्दा आव २०७७/७८ र २०७८/७९ मा लाभांश वितरण गर्न पाएको थिएन ।
आव २०७९/८० मा एन.आई.सी. एशियाले २९ प्रतिशत बोनस शेयर र १ दशमलव ५२ प्रतिशत नगद गरी ३० दशमलव ५२ प्रतिशत लाभांश वितरण गरेको थियो । नेपाल राष्ट्र बैंकले चालू आवको दोस्रो त्रैमासमा यसका सीईओका साथै सञ्चालकलाई कारबाही गरेको छ ।
राष्ट्र बैंकका अनुसार यसले सञ्चालक तथा परिवारका सदस्य एवं सम्बद्घ संस्थालाई प्रकाशित ब्याजदरभन्दा बढी ब्याज दिएको पाइएको छ ।