ललितपुर महानगरकाे ६६ प्रतिशत बजेट पूर्वाधार विकासमा

ललितपुर महानगरपालिकाले आगामी आर्थिक वर्षको कूल बजेटमध्ये ६६ प्रतिशत रकम पूर्वाधार विकासका लागि विनियोजन गरेको छ ।
आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटका सन्दर्भमा जानकारी गराउन शनिबार ललितपुरमा पत्रकार सम्मेलन गर्दै महानगरले कूल बजेटमध्ये ६६ प्रतिशत रकम पूर्वाधार बिकासका लागि बिनियोजन गरिएको जनाएको हो ।
जसमा पूर्वधार निर्माण तथा सहरी बिकास, सम्पदा संरक्षण र राजकुलो, ढुङ्गेधारा इनारपोखरी तथा हरियाली प्रवर्द्धन रहेको ललितपुर महानगरका प्रमुख चिरिबाबु महर्जनले जानकारी दिए ।
सामाजिक विकासका लागि कुल बजेटको २८ प्रतिशत, विपद व्यवस्थापनका लागि ६ प्रतिशत, सुशासन तथा अन्य क्षेत्रका लागि ३ प्रतिशत र आर्थिक बिकास लागि ८ प्रतिशत बजेट विनियोजन गरिएको उनले बताए । महर्जनले चालु आर्थिक वर्ष २०८१/८२ को असार २५ गतेसम्म कूल खर्च ६८ दशमलव १४ प्रतिशत पुगेको जानकारी दिए ।
सोही अवधिमा राजस्व संकलन ७५ प्रतिशत र बेरुजु शुन्य दशमलव ५२ प्रतिशत रहेको महानगरले जनाएको छ । त्यस्तै स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनमा ९३ दशमल ५ प्रतिशत, वित्तीय जोखिम मूल्याङ्कनमा ९९ दशमवल ५ प्रतिशत र राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगबाट गरिएको मूल्याङ्कनमा ७४ दशमलव ७१ अंक प्राप्त गरेको महानगर प्रमुख महर्जनले बताए ।
महानगरले आगामी आर्थिक वर्षका लागि कुल ७ अर्ब ४७ करोड ४१ लाख ४७ हजार रुपैयाँको बजेट विनियोजन गरिएको छ । पुँजीगत खर्चतर्फ ४ अर्ब ५० करोड ७७ लाख २९ हजार रुपै छुट्याइएको छ भने प्रशासनिक खर्चका लागि १ अर्ब ३३ करोड ३ लाख १८ हजार रुपैयाँ र सामाजिक सुरक्षा र ससर्त अनुदानमा १ अर्ब ६३ करोड ६१ लाख रुपैयाँ छुट्याइएको छ ।