नेपाल टेलिकम २१औँ वर्षमा

सन् २००४ देखि कम्पनीमा परिणत भएको नेपाल टेलिकम साेमबारदेखि २१औँ वर्षमा लागेको छ । सुरुमा नेपाल दूरसञ्चार संस्थानका रुपमा रहेकाे टेलिकमले कम्पनीका रुपमा सेवा दिन थालेको दुई दशक पुग्दा भ्वाइस सेवातर्फ ग्राहकको सङ्ख्या २०८० मङ्सिर मसान्तसम्ममा २ करोड १२ लाख ४२ हजार ५०० पुगेकाे छ ।
यस्तै, इन्टरनेट डाटातर्फ सोही अवधिमा २ करोड १५ लाख ४४ हजार ३०० जनाभन्दा बढी ग्राहक रहेको कम्पनीले जनाएको छ । कम्पनीले आर्थिक वर्ष २०७८/७९ मा कूल आम्दानी ४४ अर्ब ४२ करोड रुपैयाँ थियो । यसमध्ये ७ अर्ब ९२ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको टेलिकमले जनाएको छ । कूल आम्दानीमध्ये ३२ अर्ब ५८ करोड रुपैयाँभन्दा धेरै खर्च गरेको थियो । यस्तै, कर तिरेपछिको खुद नाफा भने ११ अर्ब ८४ करोड रुपैयाँ आसपास रहेको बताइएको छ ।
टेलिकमले आर्थिक वर्ष २०७८/७९ मा अग्रिम आयकर ४ अर्ब ६२ करोड रुपैयाँ बुझाएको थियो । यस्तै, मूल्य अभिवृद्धि करबापत ३ अर्ब ४६ करोड बुझाउँदा दूरसञ्चार सेवा शुल्कबापत ३ अर्ब ४८ करोड रुपैयाँ बुझाएको थियो ।
स्वामित्व शुल्कबापत राज्यकोषमा सोही आर्थिक वर्षमा ६९ करोड ८४ लाख रुपैयाँ बुझाउँदा भन्सार शुल्कबापत २८ करोड ९९ लाख बुझाएको कम्पनीले जनाएको छ । रोयल्टीबापत २ अर्ब २४ करोड रुपैयाँ र फ्रिक्वेन्सी दस्तुरबापत राज्यकोषमा १ अर्ब ६२ करोड रुपैयाँ राज्यकोषमा जम्मा गरेको थियो ।