भन्सार जाँचपास प्रक्रिया सहज बनाउन आग्रह

उद्योगी–व्यवसायीले भन्सार जाँचपास प्रक्रिया थप सहज बनाउन सरकारलाई आग्रह गरेका छन् ।

भन्सार दिवसको पूर्वसन्ध्यामा नेपाल उद्योग वाणिज्य महासंघमा आयोजित ७३औं अन्तर्राष्ट्रिय भन्सार दिवस तथा भन्सार जाँचपास एवं व्यापार सहजीकरण अन्तर्क्रिया कार्यक्रममा धारणा राख्दै उद्योगी–व्यवसायीले तयारी वस्तु, कच्चापदार्थ तथा मध्यवर्ती वस्तुलाई स्पष्ट गरी भन्सार दर पुनरावलोकन गर्न सके उत्पादन क्षेत्र वृद्धि भई अर्थतन्त्रमा औद्योगिक क्षेत्रको योगदान बढाउन सकिने बताए ।

अर्थ सचिव डा. रामप्रसाद घिमिरेले सरकारले निजी क्षेत्रको लगानीमा सहजीकरण गर्ने गरी नै नीतिगत सुधार गर्दै आइरहेको बताए । ‘देशको आर्थिक विकासमा निर्यातको ठूलो भूमिका रहन्छ । हामी हाम्रा उद्योगी–व्यवसायीलाई कसरी सहजीकरण गर्न सकिन्छ भनेर लागेका छौं । सरकारले नीतिगत सुधार पनि गर्दै आइरहेको छ,’ उनले भने ।

नेपाल उद्योग वाणिज्य महासंघ अध्यक्ष चन्द्रप्रसाद ढकालले भन्सारका सबै गतिविधिले उद्योग–व्यापारमा प्रत्यक्ष प्रभाव पार्ने भएकाले स्वस्थ व्यावसायिक वातावरण निर्माण गर्नेतर्फ निर्देशित हुन आवश्यक रहेको बताए । ‘नेपालजस्तो आयातमा आधारित अर्थतन्त्र भएको मुलुकका लागि भन्सारले राजस्वमात्र संकलन गरेको हुँदैन, यसले समग्र मुलुकको आपूर्ति शृंखलालाई पनि व्यवस्थित गरी लगानी प्रवर्द्धनमा पनि सहयोग गरिरहेको विषयलाई बिर्सनु हुँदैन,’ उनले भने ।

अध्यक्ष ढकालले भन्सार प्रशासन अझ बढी निजी क्षेत्रमैत्री र सेवाग्राही प्रति उत्तरदायी बनाउने उद्देश्यले अन्तर्राष्ट्रिय प्रतिबद्धता (क्योटो कन्भेन्सन र टीएफए) अनुसार नयाँ भन्सार विधेयक संसदमा टेबुल हुन लागेको विषय सह्रनायोग्य रहेको बताए ।

भन्सार विभागका महानिर्देशक हरिशरण पुडासैनीले राष्ट्रिय नीति उद्योग–व्यवसाय प्रवर्द्धनमैत्री भएकाले व्यवसायीहरूको मनोबल उच्च राख्ने गरी नै भन्सार प्रशासनले काम गरिरहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो लग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

भन्सार जाँचपास प्रक्रिया सहज बनाउन आग्रह